तेस्रो त्रैमासमा पनि घोराही सिमेन्टको नोक्सानी कायमै


काठमाडौँ । घोराही सिमेन्टको नोक्सानी कायमै रहेको छ । यद्यपी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको आम्दानी बढेसँगै खुद नोक्सानीमा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल नाफा २७ करोड ५७ लाख रुपैयाँबाट बढेर ७१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७३ लाख ६१ हजार रुपैयाँ धनात्मक भएको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा रहेको छ।

चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।