काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले कतिपय कानुन संशोधन गरी समयसापेक्ष बनाएको बताएका छन् । सोमबार ठमेलमा एक होटलको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई अगाडि बढाएमात्र देशको विकास हुने भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कानुन संशोधन गरिएको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले समयको मागअनुसार सरकारले कानुनलाई परिमार्जन गर्दै गइरहेको जानकारी दिए । उनले विसं २०४६ को परिवर्तनपछि मुलुकमा सकारात्मक परिवर्तन भएका भन्दै केही भएको छैन भन्ने भाष्य गलत साबित हुँदै गएको बताए । उनले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्नसके मुलुकको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए । उनले व्यावसायिक वातावरण निर्माणमा स्थानीय सरकार लागेको स्पष्ट पारे ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले जलविद्युत्, कृषि र पर्यटनमार्फत मुलुकको विकास सम्भव भएको भन्दै सरकारले यसको प्रवरद्धनमा विशेष योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विश्वले चिन्ने ठमेललाई आर्या होटलले मौलिक कला, संस्कृतिको संरक्षण गर्दै मुलुकलाई चिनाउन थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।
पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेल नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल एयरलाइन्सलाई नयाँ व्यवस्थापनसहित सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी पुँजीलाई यहाँ ल्याएर मुलुकको विकासमा लगाइएको भन्दै आर्या होटलका सञ्चालकप्रति आभार व्यक्त गरे। नेपाली कला, संस्कृति र पहिचानलाई यस होटलले थप प्रवर्द्धन गर्ने उनले विश्वास व्यक्त गरे।
होटलका अध्यक्ष कृष्ण सिंखडाले होटलमार्फत नेपाली कला, संस्कृति र पहिचानलाई विश्वमाझ चिनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार दुई अर्ब ५० करोड लगानीमा होटल सञ्चालनमा ल्याइएको हो ।
नेपालको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘आर्या होटल एण्ड स्पा’ प्राली सञ्चालनमा आएको छ । व्यवसायी कृष्ण सिंखडाको एकल स्वामित्व रहेको उक्त होटल काठमाडौँ महानगरपालिका–२६ ठमेलमा अवस्थित छ । नेपाली परम्परागत हस्तकलालाई प्रयोग गरेर सजावट गरिएको उक्त होटलमा ७२ कोठा छन् ।
होटलका सञ्चालक सिंखडाले नेपालमा पहिलोपटक स्काई रेष्टुरेन्टसहितको होटल सञ्चालनमा आएको बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्थापना भएको उनको भनाइ छ ।
प्रतिक्रिया