नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक


मोरङ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिए ।

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे ।

उनले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे ।

उनले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताए ।

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकाङ्क र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको जानकारी दिए ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  ०८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।