काठमाडौँ । गभर्नर नियुक्तीको चर्चासँगै सेयर बजार निरन्तर दोहारो अंकले बढ्न थालेको छ । सोमबार नै मन्त्रीपरिषदको बैठकले गभर्नर नियुक्त गर्ने चर्चा चुलिए पनि बैठक बस्न सकेको थिएन । मंगलबार ४ बजे अर्थमन्त्रीले गभर्नर सिफारिस समितिको बैठक बोलाउने खबर बाहिरिएसँगै सेयर बजार पनि उकालो लागेको हो ।
गभर्नर नियुक्तीका सम्बन्धमा भएका घटनाक्रमका कारण मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार बजार परिसुचक नेप्से ४९.०९ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २६७७.४५ अंकमा उक्लिएको छ । सोमबार पनि नेप्से १९.३० अंकले बढेको थियो ।
प्रधानमन्त्री केपि ओलीले मंगलबार साझमा नै मन्त्रीपरिषदको बैठक पनि आह्वान गरेका छन् । मंगलबार नै मन्त्रीपरिषदले गभर्नर नियुक्त गर्ने सम्भावना छ । मंगलबार नै गभर्नर नियुक्त हुन सक्ने आँकलनका कारण मंगलबार बजार तिब्र गतिमा बढेको हो ।
मंगलबार कारोबारमा आएका ३१० कम्पनी मध्ये २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक किनबेच हँुदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार सबै समूह उकालो लागेका छन् । होटल तथा पर्यटन समूह ३.४२ प्रतिशतले बढेको बजारमा, विकास बैंक समुह २.९५ प्रतिशत, वित्त समुह २.४४ प्रतिशत, जल विद्युत समूह २.४५ प्रतिशत, लगानी समुह २.३३ प्रतिशत, बैंकिङ्ग समुह १.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समुह १.८९ प्रतिशत, लघुवित्त समूह १.१३ प्रतिशत, जीवन बीमा समुह १.३२ प्रतिशत, निर्जीवन बीमा समुह १.७४ प्रतिशतले बढेका छन् ।
मंगलबार सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेघाश्री फर्मास्युटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य भने ३.०९ प्रतिशतले घटेको छ । एनएमबी ५० को इकाई मूल्य २.१३ प्रतिशत, सेन्चुरी डेभेन्चर २०८८, एनसीसी डेभेन्चर २०८६ को मूल्य २ प्रतिशतले घटेको बजारमा डिबेञ्चरबाट लगानीकर्ता बाहिरिएका छन् ।
कारोबार रकमका आधारमा रादी विद्युतको ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको सेयर तथा इकाइको संख्याका आधारमा प्रभु सेलेक्ट फन्ड १४ लाख ७२ हजार ३०० इकाईको कारोबार सहित अग्रस्थानमा छ भने कारोबार संख्याका आधारमा ४ हजार २४१ पटकको किनबेच सहित क्रेष्ट माइक्रेलाइफ अग्रस्थानमा छ ।
मंगलबार बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख ८४ हजार २८८ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया