काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालमा साढे ३ अर्ब रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वार्षिक ३७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनबाट फोक्सो, मुटु, स्वास नलीको क्यान्सर हुनसक्ने भनी यस्ता पदार्थको प्याकेटमै लेखिएता पनि नेपालीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
मानव स्वास्थ्यका लागि हानिकारक मानिएता पनि पछिल्लो १० महिनामा आयात भएको सुर्तीजन्य पदार्थको आयातले यसप्रति नेपालीहरुको लगाव पुष्टि गर्छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा ३ अर्ब ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको सुर्तीजन्य पदार्थ भित्रिएको हो ।
यस्तै सोही अवधिमा ११ करोड ५८ लाख ६० हजार रुपैयाँको सुर्तीजन्य पदार्थको लत छुटाउन प्रयोग गरिने वस्तु आयात भएको छ । यसरी सुर्तीजन्य पदार्थको तुलनामा सुर्तीजन्य पदार्थको लत छुटाउन प्रयोग गरिने वस्तु नगन्य मात्रामा आयात भएको भन्सार विभागको तथ्यांकले प्रस्ट्याएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ३६ करोड ८४ लाख ७५ हजार रुपैयाँको सुर्ति तथा सुर्तिजन्य पदार्थ आयात भएको थियो । उक्त अवधिमा १३ करोड १२ लाख १२ हजार रुपैयाँको सुर्तीजन्य पदार्थको लत छुटाउने पदार्थ आयात भएको थियो ।
यस्तै अघिल्लो आर्थिक वर्ष ७९/८० मा ३ अर्ब ७२ करोड ९६ लाख २१ हजार रुपैयाँको सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार वार्षिक मृत्युदरको करिब ३० प्रतिशत सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको छ । तर सुर्ति तथा सुर्तिजन्य पदार्थको आयात घट्न सकेको छैन ।
प्रतिक्रिया