काठमाडौँ । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बिमातर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने २ लाख ५९ हजार ४७५ रुपैयाँ रहेको छ ।
निर्जीवन बिमातर्फ ७ हजार १२४ सङ्ख्याले १अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये ५ हजार ५८५ जनालाई १ अर्ब आठ करोड ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे । “हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भने, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”
कार्यालयले चालु आवको ९ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बिमाको बिमालेख सङ्ख्या रहेको छ ।
जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट २ अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो ।
प्रतिक्रिया