काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी २ जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रुपैयाँ रकम वितरण गरेको हो ।
चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छभने जेठ र असार २ महिनाको आगामी आवमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ ।
तनहुँमा ३८ लाख ५९ हजार ७०० रुपैयाँ र नवलपुरमा १६ लाख ७९ हजार २०० रुपैयाँ गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष १५ हजार रुपैयाँ रहेकामा यस वर्ष वृद्वि गरी २५ हजार रुपैयाँ पु¥याइएको छभने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ ।
“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।”
उनका अनुसार २५ हजार रुपैयाँ सम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ ।
उनले २५ हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ सम्म ७५ प्रतिशत, ४० हजार रुपैयाँ देखि ६० हजार रुपैयाँ सम्म ५० प्रतिशत, ६० हजारदेखि ८० हजार रुपैयाँ सम्म २५ प्रतिशत र ८० हजारदेखि एक लाख रुपैयाँ सम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए ।
“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने, “६/६ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।”
प्रतिक्रिया