सार्वजनिक ऋण दायित्व १ खर्ब ८८ अर्ब रुपैयाँले बढ्यो, ३ खर्ब ८ अर्ब साँवा ब्याज भुक्तानी


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को १० महिनामा एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ थप वृद्धि भई कूल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड  रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको छ ।

यस्तै, सरकारले करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ ।

जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१।६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड  रुपैयाँ रहेको छ ।

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड  रुपैयाँ रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ । गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण  २६ खर्ब ६७ अर्ब २६ करोड  रुपैयाँ बराबर थियो ।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ । “चालु आर्थिक वर्षमा जम्मा पाँच खर्ब ४७ अर्ब  रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ८३ करोड  रुपैयाँ ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ, “जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ३० अर्ब  रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म तीन खर्ब एक अर्ब १४ करोड  रुपैयाँ उठाएको छ भने २८ अर्ब ८५ करोड  रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ ।

त्यसैगरी यस वर्ष दुई खर्ब १७ अर्ब  रुपैयाँ बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म ८९ अर्ब ६८ करोड रुपैयाँ उठिसकेको छ भने एक खर्ब २७ अर्ब ३१ करोड  रुपैयाँ उठ्न बाँकी छ ।

सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि चार खर्ब दुई अर्ब ८५ करोड  रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये गत वैशाख मसान्तसम्ममा तीन खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवा ब्याज भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ७६।४९ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कूल ऋण सेवा खर्च ५.०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ११ जेठ २०८२, आइतबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।