सामाजिक सुरक्षा कोषमा ५ दिनमा १३ हजार जना आवद्ध, बैदेशिक रोजगारीमा जानेको संख्या धेरै


काठमाडौँ । सामाजिक सुरक्षा कोषमा पछिल्लो ५ दिनमा १३ हजार २२५ जना आवद्ध भएका छन । कोषको तथ्यांक अनुसार पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो ।

कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेहरु अबद्ध हुन थालेका छन् । कोषका अनुसार हालसम्म १६ लाख ६९ हजार ३४९ जना बैदेशिक रोजगारीमा जानेहरु आवद्ध भएका छन । औपचारिक क्षेत्रबाट ४७३ जना, स्वरोजगारबाट ३६१ जना आवद्ध भएको कोषले जनाएको छ ।

प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ९७९ रोजगारदाता मार्फत ४ लाख ४५ हजार ७९ जना आवद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ । कोशी प्रदेशबाट २ हजार २२१ रोजगारदाता मार्फत ६१ हजार ९८१ जना आवद्ध भएका छन । मधेश प्रदेशबाट १ हजार ९३ रोजगारदाता मार्फत २८ हजार ८९६ जना आवद्ध भएका छन ।

गण्डकी प्रदेशबाट १ हजार ३१ रोजगारदाता मार्फत २४ हजार २७८ जना आवद्ध भएका छन । यसैगरि लुम्बिनी प्रदेशबाट १ हजार ६९६ रोजगारदाता मार्फत २० हजार ८८० जना आवद्ध भएका छन । कर्णाली प्रदेशबाट २७७ रोजगारदाता मार्फत २ हजार २८१ जना आवद्ध हुँदा सुदुपश्चिम प्रदेशबाट ३०२ रोजगारदाता मार्फत ३ हजार ७ जना आवद्ध भएको कोषले जनाएको छ ।

उल्लेखित सबै प्रदेशबाट २० हजार ५८९ रोजगारदाता मार्फत ५ लाख ८६ हजार ४०२ जना आवद्ध भएको कोषको भनाई छ ।

कोषमा हालसम्ममा ८० अर्ब २८ करोड रुपैयाँ योगदान रकम संकलन भएकोमा १४ अर्ब ७४ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । कोषमा सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६५ अर्ब ६५ करोड २९ लाख ७६ हजार ३९६ रुपैयाँ संकलन भएकोमा १२ अर्ब ३४ करोड ८३ लाख १८ हजार ५३ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ५ अर्ब ४ करोड ८३ लाख ८८ हजार ४९४ रुपैयाँ संकलन भएकोमा ४३ करोड १० लाख ७० हजार ९६ रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।

यस्तै औषधी उपचार स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब २४ करोड ४८ लाख ३७ हजार ५८८ रुपैयाँ संकलन भएकोमा १ अर्ब ९६ करोड २५ लाख २ हजार २३८ रुपैयाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।