दिखुवाखोलामा ५ करोड लागतमा मोटरेबल पुल निर्माण सुरु


खोटाङ । दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो खण्डका रूपमा रहेको दिखुवाखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल–खानीडाँडा–रेग्मीटार खण्डमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माण सुरु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा नं १५ विजयखर्कको सिमाना पर्ने दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षाको करिब ६ महिना यातायात ठप्प हुने गरेको छ । सडक सञ्चालनमा आएको लामो समयपछि प्रदेशको सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवाखोलामा मोटरेबल पुल बन्न लागेको हो ।

दिखुवाखोलामा निर्माण हुने मोटरेबल पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शिलान्यास गरे । पुल निर्माणका लागि करिब ५ करोड ५० लाख रुपैयाँ लाग्ने पूर्वाधार मन्त्रालयले अनुमान गरेको छ ।
ट्रस ब्रिज निर्माणका लागि आवश्यक सामग्री पुल सहयोग एकाइले उपलब्ध गराउने एकाइ प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पुलका लागि करिब २ करोड रुपैयाँ बढीको स्टिल ट्रस तयार पारिसकिएको छ ।

केही महिनाभित्र आशयपत्र आह्वान गरेर बाँकी काम सुरु गरिने मन्त्रालका सचिव अशोककुमार साहले जानकारी दिए । पुल निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री राईले गत फागुनदेखि पहल गरेका थिए ।

दिक्तेल–महुरेअन्तर्गत २० किलोमिटर र महुरे–राजापानी–रेग्मीटार सडकअन्तर्गत २९ किमी खण्डमा कालोपत्रको काम भइसकेको छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार खण्ड दिक्तेल–महुरे–राजापानी–रेग्मीटार भन्दा १७.५ किमी छोटो छ ।

दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेको आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको घर्तीभिरसम्म र सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट खण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ । घर्तीभिरमा ठूलो चट्टान भएकाले हाल सडक सञ्जालसँग जोड्ने काम भइरहेको जनाइएको छ ।

निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको छ । दिक्तेल–रेग्मीटार सिँधा सडक यही वर्ष जोडिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

दिखुवाखोलामा मोटरेबल पुल नहुँदा यात्री तथा व्यवसायीका लागि दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुँदै आएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत ढुवानीमा सहज हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति: १८ जेठ २०८२, आइतबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।