वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा १ अर्ब ३५ करोड रुपैयाँ रकम अर्थात ०/८६ प्रतिशतले गिरावट आएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।

चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०। ३१ प्रतिशतले वृद्धि भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड रुपैयाँ मूल्य पर्ने ९ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ८३ अर्ब ४७ करोड रुपैयाँ मूल्यपर्ने ८ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ ।

कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले ३५ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा ३२ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको १० महिनामा ३१ अर्ब ७१ करोड रुपैयाँ मूल्य पर्ने ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा ३२ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने ३ लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।

चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा ३० अर्ब २८ करोड रुपैयाँ मूल्य पर्ने २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।

जबकी गत आवको सोही अवधिमा २५ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत ५ अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट ४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा १३ अर्ब ८८ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा १५ अर्ब ४७ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।

कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत दुई अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा २ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा ५५ करोड रुपैयाँ मूल्य पर्ने ६ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ ।

जबकी गत आवको सोही अवधिमा ५६ करोड रुपैयाँ मूल्य पर्ने ५ हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट १५ करोड रुपैयाँ राजस्व सङ्कलन ग¥यो भने गत आवको सोही अवधिमा पनि १५ करोड रुपैयाँ नै राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  ०६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।