२ करोड रुपैयाँ लागतमा अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै


कैलाली । यहाँस्थित अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ ।

सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भीमदत्त राजमार्गमा पर्ने सो सडकखण्डको मर्मत तथा स्तरोन्नतिका लागि आरडिआपिएसके जेभी नामक निर्माण कम्पनीसँग २ करोड ५४ लाख रुपैयाँमा आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सडकको सतह बचाउन हरेक पाँच वर्षमा पुनः सडक सुधार आवश्यक हुन्छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोलामा भासिएको ३० मिटर सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । सडकखण्ड मर्मतका लागि जिएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको थियो । ३०० मिटर सडक कालोपत्रका लागि आगामी आर्थिक वर्षमा ठेक्का हुन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायी रूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।