करदाताको संख्या ६७ लाख पुग्यो, ९ महिनामा थपिए साढे ५ लाख बढी


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । यस अनुसार नेपालमा गत चैत मसान्तसम्म करदाताको संख्या कुल ६७ लाख ९९ हजार ८१५ पुगेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी चैत मसान्तसम्म कुल पाँच लाख ७३ हजार ६८२ नयाँ करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन् । चैतसम्म व्यक्तिगत प्यान लिनेको सङ्ख्या ४७ लाख २८ हजार ७४४ पुगेको छ । व्यावसायिकतर्फ २० लाख ३५ हजार ८७४ पुगेको छ । डब्लुप्यान लिनेको सङ्ख्या ३५ हजार १३७ छ ।

गत आर्थिक वर्षमा थप भएका मध्ये सबैभन्दा धेरै व्यक्तिगततर्फ मात्रै चार लाख ८० हजार ७० जना छन् । व्यावसायिक ९१ हजार ७३३ करदाता थपिएर कुल २० लाख ३५ हजार ८७४ पुगेको देखिएको छ । गएको असार मसान्तसम्म यो सङ्ख्या १९ लाख ४४ हजार १०१ थियो । अग्रिम कर कट्टी सुविधासहितको प्यान (डब्लु–प्यान) लिनेको सङ्ख्या एक हजार ८३९ मात्रै थपिएको छ ।

करदाता दर्ता विवरण अनुसार मूल्य अभिवृद्धि करतर्फ १८ हजार ५६१ थपिएर तीन लाख ४५ हजार ९७८ पुगेको छ भने एक्साइजतर्फ छ हजार ८९६ थपिएर एक लाख २४ हजार २६४ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  ०९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।