७ वटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै , कुन प्रदेशले कुन आकारकाे ल्याउलान् ?


काठमाडौँ । आज आइतबार ७ वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन् । असार १ गतेभित्र आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक सीमाका कारण आज सातै प्रदेशले बजेट ल्याउन लागेका हुन् ।

सातै वटा प्रदेशले स्रोतको दबाबबीच बजेट ल्याउने तयारी गरेका छन् । बजेटको स्रोतका लागि संघ सरकारको भर पर्नुपर्दा प्रदेश सरकारहरू दबाबमा परेका हुन् ।

कोसी प्रदेशले करिब ३७ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको छ ।

चालु आर्थिक वर्षमा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको मधेस सरकारले आगामी वर्षका लागि पनि सोही बराबरको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

यस्तै, चालु आर्थिक वर्ष ६४ अर्ब ५४ करोडको बजेट ल्याएको बाग्मतीले करिब ६६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आवका लागि झन्डै ३९ अर्बको बजेट ल्याएको लुम्बिनी प्रदेशले आगामी वर्षका लागि केही घटाएर बजेट प्रस्तुत गर्ने भएको छ ।

यस्तै, चालु आवका लागि ३१ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली सरकारले आगामी वर्षका लागि पनि करिब सोही आकारको बजेट ल्याउने तयारी गरेको छ ।

यसैगरी, सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्ब आसपासको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम सरकारले चालु आवका लागि ३१ अर्ब ६२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।