काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/२०८२ को १० महिना (साउन–वैशाख) मा ११ करोड रुपैयाँभन्दा बढीको टोमेटो केचप र अन्य सस आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा ११ करोड ३३ लाख ९६ हजार रुपैयाँको टोमेटो केचप र सस भित्रिएको हो ।
नेपालमा विभिन्न प्रकारका केचप र ससहरू आयात हुने गर्छ । जसमा टोमेटो केचप र ससको नाममा ५ लाख ८० हजार ६९९ किलो भित्रिएको तथ्यांकमा उल्लेख छ ।
अघिल्ला आर्थिक वर्षहरूमा नेपालबाट पनि सामान्य मात्रामा केचप र सस निर्यात भए पनि चालु आवमा भने निर्यात शून्य छ ।
आव २०७९/८० को १० महिना (साउन–वैशाख) मा टोमेटो केचप र सस ५ लाख २७ हजार ७२९ केजी परिमाणमा १० करोड २८ लाख ८२ हजार रुपैयाँको आयात भएको थियो । सो परिमाणमा आयात हुँदा निर्यात भने २० हजार रुपैयाँ बराबरको ५५ केजीमात्र भएको थियो ।
त्यस्तै, आव २०८०/८१ को सो अवधिमा ११ करोड ७१ लाख ५९ हजार रुपैयाँको ५ लाख ३६ हजार १४९ केजी टोमेटो केचप र सस आयात हुँदा निर्यात भने २८ हजार रुपैयाँको ६० केजी मात्र निर्यात भएको हो ।
नेपालमा विभिन्न ८ मुलुकबाट टोमेटो केचप र सस आयात हुने गरेको छ । सबैभन्दा बढी केचप र सस आयात हुने भारतबाट हो । भारतबाट चालु आवको १० महिनामा १० करोड ९ लाख ३८ हजार रुपैयाँको ५ लाख ३३ हजार ४४० केजी टोमेटो केचप र सस भित्रिएको छ ।
त्यसैगरी, अर्को मुलुक थाइल्यान्डबाट ५८ लाख ६२ हजार रुपैयाँको १९ हजार ३०६ केजी टोमेटो केचप र सस आयात भएको छ । चीनबाट २५ लाख ८८ हजार रुपैयाँको १४ हजार ६६४ केजी केचप र सस आएको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाबाट पनि २२ लाख १६ हजार रुपैयाँको ७ हजार ४७४ केजी केचप र सस आएको छ । संयुक्त अरब इमिरेट्सबाट पनि १२ लाख ७६ हजार रुपैयाँको ४ हजार ५६६ केजी भित्रिएको हो ।
टर्कीबाट ७४० केजी केचप र सस आयात हुँदा २ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ भने इटालीबाट २ लाख ७६ हजार रुपैयाँको ५०८ केजी केचप र सस आयात भएको छ ।
त्यस्तै, सबैभन्दा कम युकेबाट १ केजी केचप र सस १ हजार रुपैयाँमा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया