कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

notebazar_admin
12
Shares
कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ । गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२÷८३०’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा ४.४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

नेपाल राष्ट्र बैंकको उक्त वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको, औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत र प्रचलित मूल्यमा ३.८६ प्रतिशत रहने अनुमान गरिएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.५ प्रतिशत, १३.७ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६.७१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ । त्यस्ता बालीले ढाकेको क्षेत्रफलसमेत १.५६ प्रतिशतले घटेको छ । तरकारी उत्पादनमा १.६७ प्रतिशत र फलफूल उत्पादनमा ०.२१ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन १.३४ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ३.६४ प्रतिशतले बढेको छ । तर मासु उत्पादन ०.०९ प्रतिशत र अण्डा उत्पादन ५.७७ प्रतिशतले घटेको छ ।

वनजन्य उत्पादनतर्फ दाउरा उत्पादनमा १९.७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादनमा ६५.३६ प्रतिशतले वृद्धि भएको छ भने काठ उत्पादन १.४० प्रतिशतले घटेको छ ।

औद्योगिक क्षमता उपयोग घट्यो


प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा यस्तो क्षमता उपयोग ५१.४३ प्रतिशत रहेको थियो ।

यसैगरी, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ३१.०२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार उद्योगको क्षमता उपयोगमा आएको गिरावटले औद्योगिक उत्पादनका लागि उपलब्ध क्षमताको तुलनामा वास्तविक उत्पादन कम रहेको देखाएको छ ।

पर्यटक आगमन र यातायात दर्तामा वृद्धि



सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ०.९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ । गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङ्ख्या २.९८ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व ०.०४ प्रतिशतले घटेको छ । यद्यपि यातायातका साधन दर्ताको सङ्ख्यामा १६.१५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा भने वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ प्रतिशतले र कर्जा प्रवाह ६.५५ प्रतिशतले बढेको छ । समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२.३७ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६४.०५ प्रतिशत र कुल कर्जामा ६०.९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

गत आर्थिक वर्ष २०८२÷८३ मा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, नौ हजार ३१६ किलोमिटर ग्राभेल सडक, नौ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ ।

निर्यातभन्दा आयातको वृद्धि उच्च

गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । कुल वस्तु निर्यात १३.८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल वस्तु आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या (पुनः श्रम स्वीकृतिसहित) गत आर्थिक वर्षमा सात लाख ९२ हजार १८७ रहेको छ । प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २२.६० प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.८५ प्रतिशत रहेको छ ।सङ्घीय बजेट खर्च संशोधित अनुमानमा ९३.७१ प्रतिशत

गत आर्थिक वर्ष २०८२र८३ मा संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट १६ खर्ब ८८ अर्ब ३३ करोड रुपैयाँ कायम गरिएको थियो ।

संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । यो संशोधित बजेटको ९३.७१ प्रतिशत हो ।

त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट दुई खर्ब ८७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ८६ अर्ब चार करोड अर्थात् ३०.०३ प्रतिशत, पुँजीगत खर्चतर्फ एक खर्ब ७१ अर्ब १७ करोड रुपैयाँ अर्थात् ५९.४९ प्रतिशत विनियोजन गरिएको थियो । यसैगरी, वित्तीय व्यवस्थातर्फ ९८ करोड रुपैयाँ अर्थात् ०.३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २९ अर्ब १६ करोड रुपैयाँ अर्थात् १०.१४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार १६ : ४४ बजे