काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाह हुने कर्जा एक वर्षको अवधिमा २.०२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन २०८२÷८३ अनुसार कर्जा लगानी घटेको देखाएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार २०८२ असार मसान्तमा ३ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ रहेको कृषि कर्जा २०८३ असार मसान्तसम्म घटेर ३ खर्ब २९ अर्ब ९४ करोडमा झरेको हो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्राथमिक क्षेत्र अर्थात् कृषिको योगदान २४.५ प्रतिशत रहने प्रारम्भिक अनुमान भए पनि समीक्षा अवधिमा कृषि कर्जा घटेको प्रतिवेदनले देखाएको छ ।
प्रदेशगत रूपमा कृषि कर्जा वितरणमा ठूलो असमानता देखिएको छ । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ३६.५७ प्रतिशत बागमती प्रदेशमा प्रवाह भएको छ । यता कुल कृषि कर्जा लगानीमा कर्णाली प्रदेशको हिस्सा भने १.४९ प्रतिशत मात्रै रहेको छ ।
प्रतिवेदनअनुसार मधेश प्रदेशमा १८.१५ प्रतिशत, कोशीमा १६.८८ प्रतिशत र लुम्बिनीमा १५.२२ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । गण्डकीमा ६.९७ प्रतिशत र सुदूरपश्चिममा ४.७४ प्रतिशत कृषि कर्जा लगानी भएको छ ।
तर कर्जा लगानी अनुसार कृषि उत्पादनको अवस्था भने फरक देखिएको छ । कुल कृषि बाली उत्पादनमा कोशी प्रदेशको हिस्सा २३.९३ प्रतिशत र मधेश प्रदेशको हिस्सा २३.२९ प्रतिशत रहेको छ । तर कृषि कर्जाको हिस्सा भने बागमतीमा सबैभन्दा बढी छ ।
कुल कृषि बाली उत्पादनमा कर्णलीको हिस्सा ४.५६ प्रतिशत र खेतीयोग्य क्षेत्रफलको हिस्सा ५.७७ प्रतिशत रहे पनि कृषि कर्जाको हिस्सा १.४९ प्रतिशत मात्रै छ ।
कुन क्षेत्रमा कति कर्जा ?
राष्ट्र बैंकको प्रतिवेदनअनुसार कृषि कर्जामध्ये सबैभन्दा बढी अर्थात ७८ अर्ब ७९ करोड रुपैयाँ “अन्य कृषि तथा कृषिजन्य सेवा” शीर्षकमा प्रवाह भएको छ । सबैभन्दा कम अर्थात ३० करोड ४७ लाख रुपैयाँ सुर्तीजन्य बाली शीर्षकमा कर्जा गएको छ ।
कुल कर्जामध्ये सेवा क्षेत्रमा ३७.५२ प्रतिशत अर्थात् २२ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँ र औद्योगिक क्षेत्रमा ३१.०२ प्रतिशत अर्थात् १८ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कृषिबालीले ढाकेको क्षेत्रफल कति
आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल १.५६ प्रतिशतले घटेको छ । प्रमुख कृषि बालीको कुल उत्पादन पनि ०.८४ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन १.३६ प्रतिशत र मसलाको उत्पादन १.३४ प्रतिशतले घटेको छ । तरकारी उत्पादन १.६७ प्रतिशत र फलफूल उत्पादन ०.२१ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ३.६४ प्रतिशतले बढेको छ । तर मासु उत्पादन ०.०९ प्रतिशत र अण्डा उत्पादन ५.७७ प्रतिशतले घटेको छ । यसैगरी कुल सिँचाइ क्षेत्रफल २ प्रतिशतले घटेको छ ।
कृषि क्षेत्रका प्रमुख चुनौती
प्रतिवेदनले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यावसायीकरण, बजारीकरण, गुणस्तरीय कृषि सामग्रीको उपलब्धतालाई मूख्य चुनौतीको रुपमा औल्याएको छ । यसका साथै सिँचाइ पूर्वाधार, बाली तथा पशुपन्छी बीमा र प्रविधिमा किसानको पहुँचलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ ।
प्रदेशगत रूपमा मधेशमा सिँचाइमा निर्भरता, पहाडी क्षेत्रमा श्रमशक्तिको अभाव र जग्गा बाँझो रहने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णाली र सुदूरपश्चिममा बजार पहुँच, चिस्यान केन्द्र तथा यातायात पूर्वाधारको अभावलाई पनि कृषि क्षेत्रका चुनौतीका रूपमा औँल्याइएको छ ।
आगामी वर्ष कृषि गतिविधि बढ्ने अपेक्षा
भदौ र असोजमा भएको अत्यधिक वर्षा, बाढीपहिरो तथा रसुवा–भोटेकोशी क्षेत्रको बाढीले भौतिक पूर्वाधार र केही खेतीयोग्य जमिनमा क्षति पु¥याएको थियो । यद्यपि कुल खेतीयोग्य जमिनको तुलनामा बाढीबाट भएको प्रत्यक्ष क्षति ०.१ प्रतिशतभन्दा कम रहेकाले समग्र कृषि उत्पादनमा यसको प्रभाव सीमित रहने राष्ट्र बैंकको आकलन छ ।
आर्थिक वर्ष २०८३÷८४ मा अनुकूल मनसुन, कृषि सामग्रीको समयमै उपलब्धता, तुलनात्मक रूपमा न्यून ब्याजदर र कृषि पूर्वाधारमा बढ्ने लगानीले कृषि गतिविधि तथा कर्जा प्रवाहमा सुधार आउने अपेक्षा प्रतिवेदनले गरेको छ ।
समग्र तथ्यांकले कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको, प्रदेशगत वितरण असमान रहेको र समीक्षा वर्षमा प्रमुख कृषि बालीको उत्पादन तथा सिँचाइ क्षेत्रफलसमेत घटेको देखाएको छ । तर आगामी वर्षमा भने कृषि उत्पादनमा सुधार आउने राष्ट्र बैंकको अनुमान छ ।
