आयातका लागि सबै नाका खुल्ला, निर्यातमा भने १६ मात्रै !

आयातका लागि सबै नाका खुल्ला, निर्यातमा भने १६ मात्रै !

काठमाडौँ । वैदेशिक व्यापारका लागि मुलुकले २८ वटा भन्सार नाका सञ्चालनमा ल्याएका छन् । ति नाकाहरु मध्ये आधारभन्दा धेरै नाका आयातका लागि मात्रै प्रयोगमा रहेको पाइएको छ ।
चाल आर्थिक वर्ष २०८३/८४ को चार महिना (साउन–कात्तिक) को तथ्यांक हेर्दा सबै नाकाबाट आयात भएको देखिन्छ । तर, निर्यात भने १६ वटा नाकाबाट मात्रै हुने गरेको छ । बाँकी १२ वटा नाकाबाट निर्यात शून्य रहेको छ ।

साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपौर, राजविराज, सती, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । जबकी यी नाकाबाट आयात भने उल्लेख्य छ ।

तातोपानीसहित अन्य करिब एक दर्जन भन्सार नाकाबाट आयात मात्रै भएको छ । अन्य मुलुकबाट माग नभएका कारण सबै भन्सार नाकाबाट निर्यात नभएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले बताए ।

‘नेपाली बजारमा विदेशी वस्तुको माग धेरै छ, त्यसले गर्दा सबैजसो भन्सारबाट आयात हुने गरेको छ ।’ उनले भने, ‘तर, अन्तराष्ट्रिय बजारमा नेपाली वस्तुको माग यहाँको जस्तो छैन ।’
सबैभन्दा धेरै आयात भएको तर निर्यात शून्य रहेको नाका सुथौली भन्सार हो । ४ महिनाको अवधीमा उक्त नाकाबाट ४ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरका वस्तु आयात भए पनि निर्यात भने हुन सकेको देखिदैन ।

त्यस्तै, तातोपानी भन्सारबाट पनि समिक्षा अवधीमा १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ बराबरका वस्तु आयात भए पनि निर्यात भने हुन सकेको देखिदैन ।

तातोपानी भन्सार कार्यालयतर्फबाट निर्यातमा कुनै अवरोध नभएको कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका बताए ।

‘भन्सार कार्यालयमा पूर्वाधार पर्याप्त छन् । आयात भएजस्तै निर्यात पनि गर्न सकिन्छ ।’ उनले भने, ‘तर चिनियाँ बजारमा नेपाली वस्तुको माग कम हुनु र ठूलो परिमाणमा निर्यात नहुनुले यस्तो अवस्था आएको हो ।’

उनका अनुसार, नेपाली व्यवसायीको चीनतर्फको व्यापार विस्तार हुन नसक्नु र चिनियाँ पक्षबाट पर्याप्त खरिद नहुनु पनि निर्यात शून्य हुनुका प्रमुख कारण हुन् ।

त्यस्तै सुनसरीबाट ६१ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुँदा निर्यात भने शून्य रहेको छ । जनकपुरबाट ६० करोड ७७ लाख रुपैयाँ, महेशपुरबाट ५२ करोड २३ लाख रुपैयाँ, भद्रपुरबाट २९ करोड ९६ लाख रुपैयाँ, सतीबाट २० करोड ३४ लाख रुपैयाँ, सिराहाबाट १९ करोड ८९ लाख रुपैयाँ, राजविराजबाट १० करोड ९६ लाख रुपैयाँ, टाँडीबाट ९८ लाख रुपैयाँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० लाख र त्रिवेणीबाट ५१ हजार रुपैयाँ बराबरको आयात भएको छ । यी सबै नाकाबाट भने निर्यात शून्य रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा ठूलो हिस्सामा विरगञ्ज भन्सार

मुलुकको वैदेशिक व्यापार हिस्सा हेर्दा वीरगञ्ज भन्सारले मात्रै करिब आधा भार बेहोरिरहेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिनामा कुल ८ खर्ब ३० अर्ब बराबर वस्तु आयात भएको छ । जसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्र ३ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात हुन्छ । निर्यातमा समेत यस नाकाको हिस्सा ठूलो छ ।

समिक्षा अवधिमा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसमा वीरगञ्जबाट ५४ अर्ब १५ करोड बराबर वस्तु निर्यात भएको छ ।

आयाततर्फ वीरगञ्जपछि दोस्रो व्यस्त नाका भैरहवा बन्न पुगेको छ । यस नाकाबाट १ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ बराबर वस्तु तथा सामान भित्रिएको छ । सोही अवधीमा १३ अर्ब ८९ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । तेस्रो स्थानमा विराटनगर नाका छ । जहाँबाट ९४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

१० भदौको बाढीले नेपाल–चीन व्यापारलाई मुस्ताङ नाकामा सीमित गरेको छ । रसुवागढी नाकामा बाढीको प्रहारपछि चोभारस्थित सुक्खा बन्दरगाहको चहलपहल समेत घटेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार ०९ : ३५ बजे