‘नेपालको पानी, जनताको लगानी’अन्तर्गत तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने

‘नेपालको पानी, जनताको लगानी’अन्तर्गत तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने

‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ । आम नेपालीको लगानीमा ऊर्जा उत्पादनलाई बढावा दिन त्यस्तो कार्यक्रम अगाडि सारिएको हो ।

सो कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री गरी सकिएको छ । तीमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको बिहीबार मात्रै साधारण शेयर बाँडफाँटसमेत गरिसकिएको छ ।

यस्तै आगामी आवभित्रै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने सरकारले बताएको छ । । हाल सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

सबै नेपालीलाई स्वच्छ ऊर्जा पु¥याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार २० : २२ बजे