लाभकर गणनाको अन्यौलता हटाउन माग राख्दै लगानीकर्ता पुगे धितोपत्र बोर्ड, ब्रोकर अफिसमा गएर ल्याप्चे नलगाउन आग्रह

0
Shares

शेयर लगानीकर्ताहरुका पाँच वटा संगठनले भारित औसतका आधारमा पूँजीगत लाभकर गणनाको विधि र प्रक्रियामा देखिएको अन्यौलता हटाउन धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ ।

मंगलबार पाँच वटा संस्थाहरुले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई विरोध पत्र बुझाएका हुन् । लगानीकर्ताले शेयरबजारमा लागु भएको भारित औसत लाभकर विषयमा भएको सर्वपक्षीय सहमति लागु गर्न माग गरेका छन् ।

गत साता धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघबीच भएको सर्वपक्षीय छलफलमा २०५८ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने सहमति भएको थियो ।

सो सहमित कार्यान्यवनमा ल्याउन सोमबार लगानीकर्ताहरुले अर्थमन्त्रालयको ध्यानकर्षण समेत गराएका थिए । सोमबार अर्थमन्त्रालय पुगेका लगानीकर्ताहरुलाई राजश्व सचिव लालशंकर घिमिरेले बुधबार ११ बजे छलफलका लागि मन्त्रालय डाकेका छन् ।

पूँजीगत लाभकर गणनाको समस्या समाधान गर्न बुधबार निर्णायक छलफल हुने

पूर्ण अनलाइन कारोबार प्रणालीको सुरुवात भएको अवस्थामा पूँजीबजारलाई ढुंगेयुगतर्फ धकेल्ने प्रयास भएको आरोप लगानीकर्ताको आरोप छ । साथै उनीहरुले शेयर लगानीकर्ताहरुलाई ब्रोकर अफिस गएर ल्याप्चे लगाउने काम बन्द गर्न पनि आग्रह गरेका छन् ।

विरोध पत्रमा इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् ।