पूँजीगत लाभकर गणनाको समस्या समाधान गर्न बुधबार निर्णायक छलफल हुने

0
Shares

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणना विधि र प्रक्रियाको विवाद अझै पूर्ण रुपमा साम्य भएको छैन्। । पटक पटकको छलफलले ठोस निष्कर्ष निकाल्न नसकेपछि बुधबार निर्णायक छलफल हुने भएको छ ।

अर्थमन्त्रालयले बुधबार आन्तरिक राजस्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएस, स्टक ब्रोकर एशोसिएसन तथा लगानीकर्ता संगठनका प्रतिनिधिलाई छलफलमा बोलाउने भएको छ ।

सोमबार विभिन्न लगानीकर्ताका संस्थाका प्रतिनिधिहरुले राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर यो समस्या तत्काल समाधान गर्न माग गरेका थिए । समस्या समाधानका लागि साउन १५ गते बुधबार बिहान ११ बजे अर्थ मन्त्रालयमा सर्वपक्षीय बैठक बोलाउने जानकारी राजस्व सचिवले लगानीकर्तालाई गराएका छन् ।

गत साता नै कर गणना विधिबारे धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघबीच सर्वपक्षीय सहमति भएको थियो । सोहि सहमति अर्थ मन्त्रालयमा पठाईएको हो । सहमतिमा २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने उल्लेख छ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बुधबारको वार्तापछि समस्या समाधान हुने आफूहरुले अपेक्षा गरेको बताए । भेटमा लगानीकर्ताहरु छोटेलाल रौनियार, तुलसीराम ढकाल, तारा फुल्लेल, उत्तम अर्याल, संरक्षणा चौधरी र हरि ढकाल सहभागी थिए ।