नेपाल बैंकको पहिलो त्रैमासमा विवरण निराशाजनक, अधिकांस सूचकमा गिरावट

0
Shares

नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासकि वित्तीय विवरणमा अधिकांस सूचकहरु घटेको निराशजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा, संचालन नाफामा, निक्षेप, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचकहरुमा गिरावट देखिएको छ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख २३ हजार रुपैयाँमा खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३६.३३ प्रतिशले कम हो । गत वर्षको यसैअवधिमा बैंकले ९१ करोड ३८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले पनि खुद नाफा घटेको हो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६ करोड ५६ लाख ६५ हजार रुपैयाँ मात्र छ ।

बैंकको निक्षेप समेत घटेको छ । असोज मसान्त सम्ममा बैकले १ खर्ब १४ अर्ब ७९ करोड निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब २० करोड निक्षेप संकलन गरेको थियो । बैंकले असोजमसान्तसम्म ९२ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ । जसबाट बैंकले १ अर्ब ३२ करोड ८२ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३.०५ प्रतिशतले कम हो ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब २५ करोड राखेको छ । नाफामा आएको गिरावटले बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ गतवर्षको तुलनामा १३ रुपैयाँ ५४ पैसाले घटेर २३ रुपैयाँ ७२ पैसामा झरेको छ । यसअवधिमा यसको प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा रहेको छ ।

खराब कर्जा सामान्य घटाएर २.७५ प्रतिशतमा झारेको बैंकको मूल्य आम्दानी अनुपात १४.५४ गुणा, पूँजीकोष अनुपात १८.०१ प्रतिशत, आधार ब्याजदर ७.८४ प्रतिशत, कोषको लागत ५.२२ प्रतिशत, सिसिडी रेसियो ६८.६३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.४७ प्रतिशत रहेको छ ।

बैंकले दोस्रो बजारमा शेयरमा गरेको लगानी घटे पछि अदर कम्प्रीहेन्सिभ इनकम ऋणात्मक बनेको छ । यो शिर्षकमा ६० करोड ४८ लाख ३६ हजार रुपैंयाले ऋणात्मक बने पछि टोटल कम्प्रीहेन्सिभ इनकम २ करोड २० लाख १२ हजार रुपैंयाले ऋणात्मक बनेको छ । यसको असर रिभ्यालुएसन रिजर्भ तथा फेयर भ्याल्लु रिजर्भमा पर्ने नेपाल बैंकका आन्तरिक लेखापरीक्षणका एक अधिकारीले नोटबजारलाई बताए । यसबाट चौथो त्रैमाससम्म वित्तीय विबरणहरुमा कुनै किसिमको असर नपर्ने उनले जानकारी दिए ।