बुटवल पावरको लाभांशले बढायो शेयर मूल्य, कारोबार पनि उच्च

0
Shares

बुटवल पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेसँगै दोस्रो बजारमा शेयरको माग बढेको छ । जसले गर्दा कम्पनीको शेयर मूल्य बढ्नुका साथै कारोबार पनि उच्च भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफवाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांश गरी कुल २८ प्रतिशत लाभांश प्रस्ताव गरेको जानकारी सोमबार नेप्सेमा गराएको छ ।

लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर बिक्रीमा भन्दा खरिदमा चाप देखिएको छ । जसले गर्दा शेयर मूल्य समेत बढेको छ । मार्केट डेप्थमा शेयर बिक्री गर्ने भन्दा खरिद गर्नेको माग चार गुणा देखिन्छ । शेयर बिक्री गर्नेहरुले मूल्य बढाउँदै लगेका छन् ।

सोमबार बजार खुलेको करिब एक घण्टाको अवधिमा कम्पनीको तीन प्रतिशत बढीले उकालो लागेको छ । यस अवधिमा शेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेर प्रतिकित्ता ३५४ रुपैयाँ पुगेको छ । मूल्य बढेपनि कम्पनीको शेयर कारोबार उच्च भएको छ । एक घण्टाको अवधिमा सबैभन्दा धेरै शेयर कारोबार हुने कम्पनीको अग्रस्थानमा बुटवल पावर रहेको छ। यस अवधिमा करिब ४० लाख बराबरको शेयर किनबेच भएको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २४ गते २७ औं साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ ।

जस अनुसार कम्पनीको प्रस्तावित लाभांश पाउन पुस ८ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ४३ करोड रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी २ अर्ब ६७ करोड नाघ्नेछ ।