सिटिजन्सद्धारा सहयोगीलाई प्राप्ति गर्ने अन्तिम सम्झौता, राष्ट्र बैंकको स्वीकृतिपछि संयुक्त कारोबार

0
Shares

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी पुस २८ गते अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम बैंकले सोमबार केन्द्रीय कार्यालय नारायणहिटी पथमा अन्तिम सम्झौता गरेको हो।

सिटिजन्स बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन्।

दुवै बैंकले आ—आफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन्। दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

२०७६ पुस २७ गते सम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको कुल शाखा ९९ हुनेछ भने निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ तथा ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ।

सहमति अनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन्।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू सञ्चालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।