पाँच महिनामा ४३ अर्बको धितोपत्र थपियो, बोनस मात्रै १० अर्ब ३४ करोड

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा धितोपत्र बजारमा झण्डै ४३ अर्ब बराबरको धितोपत्र थपिएको छ ।

राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिर महिनासम्ममा गरी साधारण शेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी ४२ अर्ब ६७ करोड बराबरको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ ।

यसवधिमा १० अर्ब ९४ करोड रुपैयाँ बराबरको ऋणपत्र, १० अर्ब ५२ करोड बराबरको साधारण शेयर,.१० अर्ब ३४ करोड बराबरको बोनस शेयर थपिएको छ ।

यस्तै, ४ अर्ब ८९ करोड बराबरको म्युचअल फण्ड, १ अर्ब ५६ करोड बराबरको हकप्रद शेयर र ४ अर्ब ४२ करोड बराबरको अन्य गरी कुल ४२ अर्ब ६७ करोड बराबरको धितोपत्र थप भएको राष्ट्र बैंकले जनाएको छ ।

मंसिर मसान्तमा सूचीकृत ४ अर्ब ४९ करोड शेयर संख्याको चुक्ता मूल्य ४३९ अर्ब ३१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१२ पुगेको छ।

सूचीकृत कम्पनीमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४र४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।

राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७९.१ प्रतिशत रहेको छ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ।