नेपाल लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

0
Shares

जीवन बीमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ ।

अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोनपे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘ हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर करिब ८० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

२०५८ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको नेपाल लाइफ इस्योरेन्स अग्रणी जिवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सय वटा शाखा तथा उपशाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले साबधिक, धनवर्षा,आजीवन, म्यादी लगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।

 

प्रकाशित मिति: १ फागुन २०७६, बिहीबार  १३ : ५९ बजे