कीर्तिमानी कारोबारमा अनलाइनको योगदान, भारतमा यस्तोसम्म भएको थियो

0
Shares

शेयर कारोबारमा गत साता कायम भएको रकेर्ड यो साता ब्रेक भएको छ। अनलाइन प्रयोगकर्ता बढ्न थालेपछि शेयर कारोबारमा उछाल आउन थालेको नेप्सेको दाबी छ।

फागुन १४ गते बुधबार नेप्सेमा एकैदिन ४ अर्ब १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो। अनलाइन प्रणालीका कारण शेयर कारोबारमा सहजता आउँदा रेकर्ड ब्रेक कारोबार हुन थालेको हो । यसअघि गत आइतबार नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

गएको साताको ५ कारोबार दिनमा नेप्सेमा ११ अर्ब बढीको शेयर किनबेच भएकोमा यो साता ४ दिनमा १४ अर्ब बढीको कारोबार भइसकेको छ ।

नेप्सेको अनलाइन प्रणाली सीडीएस एन्ड क्लियरिङ तथा नेपाल क्लियरिङ हाउको प्रणालीमा आवद्ध भएको छ । अर्थात् हाल ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत सेयर कारोबार रकम तथा सेयर भुक्तानी र राफसाफ गर्न सकिने भएकाले बजारमा नयाँ उत्साह छाएको नेप्सेको भनाई छ ।

नेप्सेका अनुसार बुधबारको कारोबारमा कुल कारोबारमध्ये करिब ३८ प्रतिशत कारोबार अनलाइनबाट मात्रै भएको छ । यो बढ्दो क्रममा रहेको नेप्सेको भनाई छ। बुधबार कुल ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको कारोबार भएकोमा अनलाइनबाट १ अर्ब ५७ करोड ८० लाख ९१ हजार ३४ रुपैयाँ बराबरको किनबेच भएको छ ।

रेकर्ड ब्रेक भएको बजारमा १५ हजार ९५४ लगानीकर्ता कारोबारमा संलग्न भएका थिए जसमध्ये ३ हजार ५५४ प्रयोगकर्ता अनलाइनबाट थिए । दिनभर १ लाख ४० हजार ८२० वटा अर्डर प्लेस भएकोमा अनलाइनबाट ५० हजार ९१३ अर्डर प्लेसमेन्ट भएको नेप्सेले जनाएको छ। ९९ लख ६ हजार ९८९ कित्ता शेयर किनबेच भएकोमा ३९ लाख ९८ हजार ६६३ कित्ता अनलाइन मार्फत खरिदबिक्री भएको छ। नेप्सेका अनुसार हालसम्म अनलाइन कारोबार प्रणालीको यूजर आईडि र पासवर्ड लिने लगानीकर्ताको संख्या २२ हजार १६९ पुगेको छ ।

  • भारतमा अनलाइन सुरु भएको वर्षदिनमा ६०% ले विस्तार भएको थियो बजार

भारतीय शेयर बजारमा अनलाइन कारोबार प्रणाली सुरु भएको बर्षदिनमा शेयर बजार ६० प्रतिशतले विस्तार भएको थियो । नेपालमा भने अनलाइन कारोबार प्रणाली सुरु भएको १५ महिनापछि बजार विस्तारको क्रम देखिन थालेको छ ।

भारतमा नेशनल स्टक एक्सचेन्जले १९९४ को नोभेम्बर महिनाबाट तथा बम्वई स्टक एक्सचेन्जे १९९५ बाट कम्प्युटर स्क्रिनबाट कारोबार शुभराम्भ गरेका थिए । सन २००० मा भारतको धितोपत्र बजारको नियामक निकाय अन्तर्गतको कमिटिले अनलाइन कारोबार सम्बन्धीको रिर्पोट स्वीकृत गरेपछि अनलाइन कारोबार शुभारम्भ भएको देखिन्छ ।

सन २००० पछि मात्र नेशनल स्टक एक्सचेन्जमा कारोबार गर्न चाहने लगानीकर्ताहरुले ब्रोकरको सहयोग विना आफैले शेयर कारोबार गर्न थालेका थिए । त्यस्तै बम्बई स्टक एक्सेचन्जले पनि सन २००१ मार्चबाट अनलाइन शेयर कारोबारको थालनी गरेको थियो ।

भारतका अनलाइन मार्फत कारोबार हुनथालेपछि कारोबारमा आवद्ध हुने लगानीकर्ता र कारोबार रकममा भारी वृद्धि भएको भेटिन्छ । सन २००० ताका भारतमा १२ लाख लगानीकर्ता रहेकोमा एकवर्षभित्रै त्यो संख्या बढेर २३ लाख नाघेको थियो ।

लगानीकर्ता बढेपछि भारतीय शेयर बजार एकवर्षको अवधिमा झण्डै ६० प्रतिशतसम्म उकालो लागेको तथ्यांक भेटिएको छ । बिएसईको सेन्टिभ इन्डेक्स करिब ५७ प्रतिशत तथा एनएसईको निफ्टी इन्डेक्स करिब ६० प्रतिशतले वृद्धि भएको थियो।