सहयोगी विकास बैंकको स्थगित साधारण सभा जेठ २४ गते आह्वान

0
Shares

सहयोगी विकास बैंक (SBBLJ) ले यसअघि चैत १० गते आह्वान गरेर कोभिड १९ संक्रमणका कारण स्थगित साधारण सभा पुन आह्वान गरेको छ।  बैंकले केन्द्रीय कार्यालय जनकपुरधाममा जेठ २४ गते दिउँसो २ बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

बैंकले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहित सिटिजन्स बैंकसँग विलय हुने प्रकृयालाई सभाको मुख्य एजेण्डा बनाएको छ।

सभाले सहयोगी विकास बैंक सिटिजन्स बैंकमा विलय गर्ने सम्बन्धमा १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर आदान प्रदान अनुपात स्वीकृत गर्ने,प्राप्ती समझदारीपत्र अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटीले गरेका निर्णयहरु अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

यसैगरि मर्जरको अन्तिम सम्झौतापत्र अनुमोदन तथा बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता नियुक्ती, पारिश्रमिक निर्धारण र मर्जरका लागि भए।गरेका अन्य सम्पूर्ण निर्णय अनुमोदन गर्ने तथा आगामी दिनमा नियमनकारी निकायबाट आउने निर्देशन कार्यान्वयन गन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २८ गतेदेखि बुकक्लोज गरेकाले फागुन २७ गतेसम्म कायम शेयरधनीले बैंकको लाभांश पाउनेछन्। तर बैंकको शेयर कारोबार सिटिजन्स बैंकसँग प्राप्ती सम्झौतासँगै रोकिएकाले सो अवधिसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन्।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा सहयोगी विकास बैंक प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्सको कुल शाखा १०० नाघ्नेछ भने निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ तथा ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: १६ जेठ २०७७, शुक्रबार  १० : ३५ बजे