नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, साढे १५% कारोबार हिस्सा ओगट्न सफल

0
Shares

 

सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। आज कूल ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा पुनर्बीमा कम्पनीको मात्रै १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँको शेयर कारोबार भएको छ।

आज १७६ कम्पनीको शेयर कारोबारमा आएकोमा एउटै कम्पनीको कारोबारले १५.६६ प्रतिशत हिस्सा ओगटेको छ। कूल २७ लाख ३१ हजार ४९८ कित्ता शेयर कारोबार भएकोमा पुनर्बीमा कम्पनीको मात्रै ३ लाख ३७ हजार २९३ कित्ता शेयर खरीद बिक्री भएको छ। कारोबार कित्ताका आधारमा पनि १२.३४ प्रतिशत खरीद बिक्रीको हिस्सा यसै कम्पनीको भएको देखिन्छ।

पुनर्बीमा कम्पनीको शेयरमूल्य बढेर उच्च कारोबार भएसँगै निर्जीबन बीमा उपसमूहको सूचक पनि करिब ५ प्रतिशतले बढ्न पुगेको छ।

त्यसैगरी दोस्रो ठूलो कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ८० लाख र तेस्रो ठूलो कारोबार भएको प्रभु बैंकको संस्थापक शेयर ४ करोड ८४ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ६५ हजार ३४५ कित्ता शेयर र प्रभु बैंकको ३ लाख ६७ हजार कित्ता शेयर कारोबारमा आयो।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.५१ प्रतिशतले बढेको छ। यससँगै होटल सूचक १४३०.७४ अंकमा उक्लिएको छ।

यस्तै निर्जीवन बीमा ४.९८ प्रतिशत, अन्य ४.२६, लघुवित्तको ४.०३, जीबन बीमा ३.५४ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ्ग, ब्यापार, उत्पादन, जलविद्युत १ प्रतिशत धेरैले सुुधारिएको बजारमा विकास बैंक र वित्तको परिसूचक १ प्रतिशतभन्दा थोरैले मात्र सुधारिएको छ।

उता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.६७ प्रतिशत घटेर ९.६७ अंकमा झरेको छ।

नेप्से परिसूचक २.६३ प्रतिशत अर्थात ३३.२७ अंकले बढेर १२९८.७३ बिन्दुमा पुगेर बन्द भएको छ। ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स २.३४ प्रतिशत बढेर २७५.८८ अंकमा पुगेको छ।

बजारमा सुधार आएसँगै लगानीकर्ताको सम्पत्ति मापक समग्र बजार पूँजीकरण ४३ अर्ब ६४ करोड रुपैयाँले बढेर १७ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।