‘बुक बिल्डिङ’ प्रक्रियामा सहभागी हुन चार दर्जन कम्पनीको आवेदन

0
Shares

‘बुक बिल्डिङ’ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन चार दर्जन बढी संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डमा आवेदन गरेका छन् ।

गत साउनको अन्त्यमा बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेको बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको थियो ।

हालसम्म ‘बुक बिल्डिङ’ प्रक्रियामा सहभागी हुन ४८ कम्पनीहरुले आवेदन दर्ता गराएको बोर्डका सहायक प्रवक्ता रुपेश केसीले जानकारी दिए । उनका अनुसार प्राप्त आवेदनहरुको जाँचबुझको काम यहि साता सम्पन्न हुनेछ ।

बोर्डका मापदण्ड अनुसार विवरण बुझाएका आवेदन स्वीकृत गर्ने काम समेत अर्को साताबाट गरिने जानकारी दिए । साथै उनले अपुग कागजपत्रका साथ निवेदन दिने कम्पनीहरुसँग थप कागजपत्र मगाउने कार्य जारी रहेको पनि बताए । प्राप्त आवेदनको जाँचबुझ गरी बोर्डले योग्य संस्थागत लगानीकर्तालाई स्वीकृति दिई सूची तयार पार्नेछ ।

बोर्डले स्वीकृति दिएपछि योग्य लगानीकर्ताले बुक बिल्डिङ विधि मार्फत निष्काशन हुने आइपीओमा सहभागी हुन सक्नेछन् ।

बोर्डले सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

हालसम्म अधिकांस मर्चेन्ट बैंकर, सामूहिक लगानीकोषका योजनाहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनी तथा इन्भेष्टमेन्ट कम्पनीहरुले आवेदन गरेको केसीले जानकारी दिए ।

शेयर बजारको प्राथमिक निष्काशनमा प्रयोग हुने बुक बिल्डिङ्ग विधि के हो ?

नेपालको प्राथमिक बजारमा बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउने सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आएकोमा पछिल्लो समय नियामक निकाय धितोपत्र बोर्डले नै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएको बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न सकिने व्यवस्था बमोजिम उक्त विधि कार्यान्यनका लागि बुक बिल्डिङ निर्देशिका, २०७७ लागू गरेको हो ।

धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेसँगै लगानीकर्ताले शेयर बजारमा यो विधि कसरी लागू गरिन्छ र यसले बजारमा कस्तो प्रभाव पार्छ भन्ने चासो पाइन्छ ।

साधारणतया सार्वजनिक निष्काशनमा प्रतिकित्ता १०० रुपैयाँ मा निष्काशन नगरी योग्य संस्थागत लगानीकर्ताहरुको मागको आधारमा वास्तविक मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ्ग विधि हो ।

अर्थात बुक बिल्डिङ्ग विधि भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि हो ।

यो विधि लागू भएपनि यसअघि जस्तै अंकित मूल्यमा पनि आईपीओ भने जारी हुनेछन् । आईपीओ निष्कासनमा लागू गरिएको उक्त विधि सबै कम्पनीलाई अनिवार्य नभएको बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले यसअघि नै बताइसकेका छन् ।

बजारले देशको आर्थिक स्थिति यर्थाथ रूपमा प्रतिबिम्बित गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरू खास गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमार्फत पूँजी परिचालन गराउन बुक बिल्डिङ्ग विधि महत्वपूर्ण माध्यम मानिन्छ । यसले प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्र तथा शेयरको वास्तविक र न्यायोचित मूल्य निर्धारण गर्दछ ।

सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाहरूले निम्न बमोजिमको शर्तहरू पूरा गरेपश्चात् मात्र बुक बिल्डिङ्ग विधिबाट प्रिमियम मूल्यमा धितोपत्र निष्काशन गर्न योग्य हुनेछन्। यस्ता शर्तहरुमा

१. कम्तिमा ३ बर्षदेखि कारोबार सञ्चालन गरेको वा व्यापारिक उत्पादन गरिरहेको हुनुपर्ने ।

२. कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष खुद नाफा आर्जन गरेको हुनुपर्ने ।

३. कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष व्यवसाय सञ्चालनबाट नगद प्रवाह धनात्मक हुनुपर्ने ।

४. निष्काशन गर्ने धितोपत्रको कम्तीमा ५० प्रतिशत धितोपत्रको प्रत्याभूति गराउनुपर्ने ।

५. सार्वजनिक निष्काशनमार्फत संकलन गरिने रकम कम्तीमा २५ करोड रूपैयाँ हुनुपर्ने ।

६. संगठित संस्थाको आधारभूत शेयरधनी र सञ्चालकहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको ।

योग्य संस्थागत लगानीकर्ता: प्रचलित कानून बमोजिम नेपालमा आफ्नो व्यवसाय सञ्चालन गरेका देहाय बमोजिमका संस्थाहरूले बुक बिल्डिङ्ग विधिमा बोलकबोलमा सहभागी हुन पाउनेछन् । जसअन्तर्गत मर्चेन्ट बैंकर तथा पोर्टफोलियो व्यवस्थापक, सामूहिक लगानी कोष योजना, बजार निर्माता/डिलर, बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, विशिष्टिकृत लगानी कोष, तथा धितोपत्र बजारमा सूचीकृत भएका अन्य संस्थाको शेयरमा लगानी गर्ने उद्देश्यसहित स्थापित संगठित संस्थाहरू, कर्मचारी सञ्चय कोष,नागरिक लगानी कोष,र बोर्डले स्वीकृति प्रदान गर्ने अन्य संस्थाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।

वास्तवमा आईपीओमा बुक बिल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्ने हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया नै हो । यस प्रणालीमा कम्पनीले सार्वजिनक निष्काशन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्काशन गर्दा मूल्य निर्धारित गरिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।