नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।
बोर्डका प्रवक्ता निरज गिरीले साउन २२ गते सम्पन्न बैठकले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था अनुसार बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गरेको जानकारी दिए।
बुक बिल्डिङ्ग विधि लागू भएसँगै ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने भएको छ। यस्तै यसले दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
निर्देशिका लागू भएसँगै संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने भएको छ ।
बुक बिल्डिङ्ग प्रणाली मार्फत शेयर जारी गर्दा न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी संगठित संस्थाबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।
बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जसका लागि स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वचालित विद्युतीय बोलकबोल प्रणाली सञ्चालनमा नआउञ्जेल संगठित संस्थाले शिलबन्दी बोलकबोल मार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसअनुसार कुनैपनि एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाउनेछैनन्। कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ ।
योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने हुन्छ।
यसरी आवेदन गरेका संगठित संस्थाहरुलाई कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ।
सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गर्दा भने संगठित संस्थाहरुबाट कायम भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्वसाधारणले धितोपत्र खरीदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता कायम गरिएको छ।
प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डले जनाएको छ। यस प्रकृयाबाट शेयर निष्काशन गर्दा निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने बोर्डको अपेक्षा छ ।
यो विधि लागू भएपछि निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास समेत धितोपत्र बोर्डले गरेको छ।
बुक विल्डिङ विधि लागू भएसँगै अब उत्पादनशिल क्षेत्रका कम्पनीहरुलाई एक सय रुपैयाँभन्दा माथिको मूल्यमा शेयर बिक्री गर्ने बाटो खुलेको छ। यसले फपीओको मूल्य निर्धारणको विवादबाट नियामक र निष्काशन गर्ने कम्पनीले पनि छुटकारा पाउने देखिन्छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया