इन्भेष्टमेन्ट बैंकको आम्दानीको स्रोत घट्दा खुद नाफा ८ करोडले खुम्चियो, अन्य वित्तीय सूचक कस्ता ?

इन्भेष्टमेन्ट बैंकको आम्दानीको स्रोत घट्दा खुद नाफा ८ करोडले खुम्चियो, अन्य वित्तीय सूचक कस्ता ?

निजी क्षेत्रको लिडिङ बैंकको परिचय बनाएको नेपाल इन्भेष्टमेन्ट बैंकको वित्तीय प्रगति भने खस्कन थालेको छ ।

आजै वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन्स बैंक र मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा बढोत्तरी गरेको विवरण सार्वजनिक गर्दै गर्दा इन्भेष्टमेन्ट बैंकले भने गत आवको यसै अवधिको तुलनामा ८ करोडले खुद नाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ ।

बिहीबार प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यहि अवधिमा बैंकले १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको यसै अवधिको तुलनामा ४.७७ प्रतिशत नाफा संकुचित बनेको हो ।

ब्याज आम्दानीसँगै बैंकको आम्दानीका सबैजसो स्रोतहरुमा कमी आउँदा बैंकको नाफा प्रभावित भएको हो । अन्य बैंकहरुले आफुलाई पछाडि पार्न थालेपछि बैंकले हिमालयन बैंकसँगको मर्जर प्रकृया समेत अगाडि बढाएको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकको दोस्रो त्रैमाससम्म आर्जन नाफाका आधारमा यसबाट बैंकले शेयरधनीलाई ३.४७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी १.११ रुपैयाँ घटेर २२.२७ रुपैयाँमा झरेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । बैंकको शेयर प्रिमियममा ३ करोड २६ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कोरोना भाइरसका कारण ऋण असुली प्रभावित हुँदा समेत बैंकको निष्क्रिय कर्जा अनुपात २.९० प्रतिशतबाट बढेर २.७५ प्रतिशतमा सुधारिएको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २०७.३९ रुपैयाँ, मूल्य आम्दानी अनपात २४.६१ गुणा, कोषको लागत ४.६९ प्रतिशत, पूँजीकोष अनुपात १३.९८, आधारदर ६.५६ प्रतिशत र सीसीडि अनुपात ७४.०७ प्रतिशत रहेको छ ।

पुस मसान्तसम्म बैंकले २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी, ५६ करोड ९४ लाख रुपैयाँ शुल्क तथा कमिशन आय, ३२ करोड ७ लाख रुपैयाँ नेट ट्रेडिङ्ग इन्कम, १९ करोड २४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी र २ अर्ब ३३ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत आवको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ८ करोड ९ लाख, शुल्क तथा कमिशन आय १५ करोड ९२ लाख, नेट ट्रेडिङ्ग इन्कम १४ करोड ५४ लाख र सञ्चालन नाफा ४ करोड ८८ लाख रुपैयाँले घटेको छ । बैंकको अन्य सञ्चालन आम्दानी भने गत आवको यसै अवधिको तुलनामा २ करोड ८३ लाख रुपैयाँले वृद्धि भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार ०८ : ५७ बजे