कामना सेवा विकास बैंकका एकैदिन २ नयाँ शाखा संचालनमा

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैदिन दुई वटा नयाँ शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।

मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड भित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए। बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ। बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैकिङ, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।