साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार

साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार

काठमाडौँ । यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । साताका सुरुवाती तीन दिन लगातार हरियाली छाएको बजारमा पछिल्ला दुई दिन भने गिरावट आउँदा समग्र सातामा नेप्से परिसूचक ६.८८ अंकको सामान्य सुधार आएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २६२१.२९ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन शुक्रबार २६२८.१७ विन्दुमा पुगेर साताको बजार बन्द भएको छ ।

साताभर नेप्से सामान्य अंकले मात्र बढे पनि कारोबार रकममा भने लगानीकर्ताको राम्रो उत्साह देखिएको छ । यो साता ५ कारोबार दिनमा कुल २ लाख ४० हजार ३९० पटकको किनबेचमार्फत ६ करोड ९८ लाख ८२ हजार ७०६ कित्ता सेयर खरिदबिक्री हुँदा २५ अर्ब ८२ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुन दिन कस्तो रह्यो बजार ?

साताको पहिलो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो । यस दिन ३६० कम्पनीको ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । सो दिन विकास बैंक, वाणिज्य बैंक र अन्य समूह बढ्दा बाँकी समूह राताम्मे रहे ।
मंगलबार बजारमा दोहोरो अंकको सुधार आएको थियो । नेप्से १५.३९ अंकले उकालो लाग्दै २६३८.९५ विन्दुमा पुग्यो भने कारोबार रकम पनि बढेर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ पुगेको थियो । यस दिन लघुवित्त र अन्यबाहेक सबै उपसूचकमा हरियाली देखिएको थियो ।

बजारको उकालो यात्रा तेस्रो दिन पनि कायम रहँदा नेप्से ८.६६ अंकले बढेर साताकै उच्च अर्थात २६४७.६१ विन्दुमा पुग्दा कारोबार रकम पनि ६ अर्ब माथि पुगेको थियो । उक्त दिन ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

लगातार तीन दिन बढेको बजारमा बिहीबार भने करेक्शन आएको थियो । नाफा सुरक्षित गर्ने प्रवृत्ति हाबी हुँदा नेप्से १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा झरेको थियो । यस दिन कारोबार रकम पनि घटेर ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ पुगेको थियो ।

साताको अन्तिम कारोबार दिन पनि गिरावटले निरन्तरता पायो । शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर साताको कारोबार बन्द भएको छ । यस दिन निर्जीवन बिमा र वाणिज्य बैंक समूहबाहेक अन्य सबै समूह घट्दा ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताका मुख्य आकर्षण र शीर्ष कम्पनीहरू

साताभरको कारोबार हेर्दा जलविद्युत, बैंकिङ र होटेल समूहका कम्पनीहरू लगानीकर्ताको मुख्य रोजाइमा परेको देखिन्छ ।

कारोबार रकमको आधारमा बुधबार ३४ करोड ७४ लाख र बिहीबार २४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै हिमालयन ऊर्जा विकास कम्पनी साताभर सर्वाधिक कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रह्यो । त्यस्तै, मंगलबार सोल्टी होटल ३२ करोड १७ लाख रुपैयाँ, शुक्रबार लक्ष्मी सनराइज बैंक २४ करोड ९९ लाख रुपैयाँ र सोमबार ग्लोबल आईएमई बैंक १५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार सहित सर्वाधिक कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा देखिएका छन् ।

सातामा सर्वाधिक कमाउने र गुमाउने कम्पनी

साताको पहिलो कारोबार दिन सोमबार मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य १०.५८ प्रतिशतले बढ्यो भने बुधबार मुक्तिनाथ कृषि कम्पनीको मूल्यमा १०.९८ प्रतिशतको वृद्धि देखियो । यता, सोमबार भिजन लुम्बिनी ऊर्जाको सेयर मूल्य ८.३३ प्रतिशत र मंगलबार मानुसी लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले ओरालो लागेको थियो ।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार ११ : ०५ बजे