चालु आवमा ६ जीवन बीमा कम्पनीको पौने ४ अर्बको आईपीओ आउँदै, कसको कति ?

0
Shares

चालु आर्थिक वर्षमा ६ जीवन बीमा कम्पनीहरुको पौने ४ अर्बको प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनमा आउने भएका छन् । आईपीओ आउना बाँकी कम्पनीमध्ये सानिमा लाइफले साउन तेस्रो साता नै बिक्रीमा ल्याउँदैछ भने अन्य कम्पनीहरुले नियामक निकायबाट स्वीकृतिपछि बिक्री गर्नेछन् ।

तीन वर्षअघि बीमा समितिबाट स्वीकृति पाएका दश जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्षमा चार जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गरेका छन् ।

सञ्चालनमा आएका नयाँ दश जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर जारी गरेका छन् । तर यस अवधिमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर जारी गर्ने लक्ष्यका साथ साधारण सभाबाट प्रस्ताव गरेपनि ६ बीमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर भने सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।

गत आवमा निर्जीवन बीमातर्फ अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले ३० करोडका दरले ९० करोड रुपैयाँ बराबरको शेयर बिक्री गरेका छन् । यसैगरी जीवन बीमा तर्फ सबैभन्दा पहिला रिलायन्स लाइफले ६३ करोड, प्रभु लाइफले ६० करोड, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँ गरी कुल २ अर्ब ५३ करोड ५० लाख रुपैयाँको शेयर बिक्री गरेका हुन् ।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार अजोड इन्स्योरेन्सले २०७७ असारमा, रिलायन्स लाइफले भदौमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले असोजमा, प्रभु लाइफ इन्सयोरेन्सले पुसमा, ज्योति लाइफले फागुनमा, युनियन लाइफले २०७८ मा सर्वसाधारणमा शेयर बिक्री गरेका हुन् ।

कसको कति आउँदैछ आईपीओ ?

स्थापना भएका सबै निर्जीवन बीमा कम्पनीले प्राथमिक शेयर जारी गरेपनि दशमध्ये ६ जीवन बीमा कम्पनीको शेयर जारी हुन बाँकी रहेको छ ।

सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमा सानिमा लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यी ६ कम्पनीहरुको जारी पूँजी १२ अर्ब ५० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब ७५ करोडको शेयर बिक्रीमा आउनेछ । शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । सानिमा लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०।६० करोडको शेयर बिक्रीमा आउनेछ ।

S.N. Life Insurance Company  Paid Up Capital (in Crore) IPO Issued Amount (in Crore) Paid Up Capital After IPO (in Crore)
1 Citizen Life Insurance Company  175.00 75.00 250.00
2 I.M.E. Life Insurance Company  140.00 60.00 200.00
3 Sun Nepal Life Insurance Company 140.00 60.00 200.00
4 Reliable Nepal Life Insurance  140.00 60.00 200.00
5 Sanima Life Insurance Company  140.00 60.00 200.00
6 Mahalaxmi Life Insurance Company  140.00 60.00 200.00
Total Amount Crore 875.00 375.00 1250.00

शेयर बजार बुलिस प्रवृत्तिमा गएर क्रेज फर्किको बेला बीमा कम्पनीको शेयर बिक्रीमा आउँदा आईपीओबाटै लगानीकर्ताले प्रशस्त नाफा आर्जन गर्न सकेका छन् । प्राथमिक बजारका लगानीकर्ताको संख्या २२ लाख नजिक पुगेको छ भने सिडिएस एण्ड क्लियरिङ्गमा बुधबारसम्म ३७ लाख ६७ हजार ८७२ वटा डिम्याट खाता खुलेका छन् ।

आईपीओ निष्काशनको तयारीमा रहेका ६ कम्पनीहरुले संस्थापकबाट जारी पूँजीको ७० प्रतिशतले हुन आउने रकम कम्पनी स्थापनाको समयमा नै चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत शेयर सर्वसाधानमा आईपीओ बिक्रीपछि चुक्ता हुनेछ ।

आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सानिमा लाइफको आईपीओ बिक्री खुल्दै, अन्य ३ कम्पनीको रेटिङ सम्पन्न

आईपीओ निष्काशन गर्न बाँकी ६ मध्ये सानिमा लाइफ इन्स्योरेन्सले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ३१ गते बिक्री अनुमति पाएको छ । यद्यपी कम्पनीले बिहीबारसम्म शेयर बिक्रीको मिति तोकिसकेको छैन ।

सानिमा लाइफबाहेक आईपीओ बिक्री गर्न बाँकी जीवन बीमा कम्पनीमध्ये ३ वटाले क्रेडिट रेटिङ सम्पन्न गरेका छन् । 

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सिटिजन लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले पनि आईपीओ बिक्रीका लागि रेटिङ गराइसकेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि माइनस रेटिङ’ दिएको छ ।

त्यस्तै, सन नेपाल लाइफले आइपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले ग्रेड ४ प्रदान गरेको छ । जसले औषत भन्दा कमजोर वित्तीय अवस्था रहेको कम्पनी भन्ने बुझाउँछ ।

यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।