वैदेशिक व्यापार उच्च हुने यी हुन् ५ मुख्य नाका, सबैभन्दा अगाडि वीरगञ्ज

0
Shares

देशभर सञ्चालनमा रहेको दुई दर्जन भन्सार नाकाहरुमध्ये ५ वटा नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुने गरेको पाइएको छ ।

कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य ५ नाकाबाट मात्रै ८० प्रतिशत बढी आयत निर्यात हुने गरेको छ ।

भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, विराटनगर तथा वीरगञ्ज ड्राइपोर्ट नाकाहरुबाट सबैभन्दा बढी सामानहरु आयात तथा निर्यात भएको हो ।

सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुनेमा वीरगञ्ज नाका पहिलो नम्बरमा रहेको छ । यो नाकाबाट कुल आयातको ३४.८० प्रतिशत आयत तथा कुल निर्यातको ४७ प्रतिशत निर्यात भएको छ ।

सबैभन्दा धेरै आयात निर्यात भएको भन्सार नाकाहरु

१. वीरगन्ज

भन्सार विभागका अनुसार सबैभन्दा धेरै सामानहरु आयात निर्यात भएको भन्सार नाका वीरगञ्ज रहेको छ । यस नाकाबाट गएको ६ महिनाको अवधिमा ३ खर्ब ४७ अर्ब ७९ करोड ७१ लाख २६ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३४ दशमलव ८० प्रतिशत हो । यस नाकाबाट सो अवधिमा कुल ५५ अर्ब ८६ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको ४७ प्रतिशत हो ।

२. भैरहवा

भन्सार विभागको अनुसार दोस्रो स्थानमा बस्तु तथा सामानहरु आयात हुनेमा भैरहवा भान्सार नाका रहेको छ । यस नाकाबाट गएको ६ महिनाको अवधिमा १ खर्ब ६२ अर्ब ३८ करोड ११ लाख ७५ हजार रुपैयाँ बराबरको बस्तस तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १६ दशमलव २५ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ३९ अर्ब ५० करोड ४० लाख ८१ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ३ दशमलब ३२ प्रतिशत हो ।

३. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

भन्सार विभागको अनुसार बस्तु तथा सामान आयात निर्यातमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थाल तेस्रो स्थानमा रहेको छ । यस नाकाबाट गएको ६ महिनाको अवधिमा १ खर्ब २३ अर्ब ९३ करोड ६२ लाख ७० हजार रुपैया बराबर रकमको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको १२ दशमलब ४० प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट भने १६ अर्ब ८० करोड १५ लाख ९१ हजार रुपैयाँ बराब रकमको सामान निर्यात भएको छ । यो कुल निर्यातको १४ दशमलव १४ प्रतिशत हो ।

४. विराटनगर

यसै गरी विभागका अनुसार धेरै सामानहरु आयात निर्यात हुने अर्काे नाका विराटनगर रहेको छ । यस नाकाबाट गएको छ महिनामा १ खर्ब १५ अर्ब ७७ करोड ८३ लाख ३ हजार रुपैयाँ बराबरको सामानहरु आयात भएको छ । यो कुल ११ दशमलव ५९ प्रतिशत हो । सो अवधिमा सामान निर्यातमा दोस्रो स्थानमा भने विराटनगर रहेको छ । यस नाकाबाट ३३ अर्ब ३७ करोड ७८ लाख ४२ हजार रुपैयाँ बराबर रकमको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको २८ दशमलब ८ प्रतिशत हो ।

५. वीरगञ्ज डाईपोट

सबैभन्दा धेरै वस्तु तथा सामान आयातको पाँचौ स्थानमा वीरगञ्ज डाईपोट रहेको छ भने निर्यातको चौथो स्थानमा मेची रहेको छ । डाईपोट भन्सार नाकाबाट गएको ६ महिनामा १ खर्ब ९ अर्ब ४७ करोड ९८ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १० दशमलव ९६ प्रतिशत हो । सो समयमा मेचीबाट ५ अर्ब २० करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको र कुल निर्यातको ४ दशमलब ३२ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।