बससेवाले कलंकीमा सुरू गर्‍यो अत्याधुनिक प्यासेन्जर लाउञ्ज

बससेवाले कलंकीमा सुरू गर्‍यो अत्याधुनिक प्यासेन्जर लाउञ्ज

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ ।

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरि नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो । यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । उनले भने ‘सार्बजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित् गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन । बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ । देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ । चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ । ’

यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउने मात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए । पछिल्ला दिनमा फुटपाथमा हिड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरुको उदाहरण दिँदै उनले यात्रुको सुरक्षामा समेत लाउञ्जको ठुलो भूमिका हुने बताए ।

यस्तै बससेवा डटकमका सीइओ पिआर खनालले भने ‘ हामीले सुरूदेखि नै आम यात्रुहरूलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएका छौं । यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो । एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरिरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेका हौँ । यस लाउञ्जले यात्रुहरुलाई सहज बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौं ’।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार १५ : ५९ बजे