लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नेपाल लाइफको उद्घोष

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५% लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

मंसीर ८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको कम्पनीको साधरण सभाले कर समेत १ अर्ब २९ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, साधारण सभाले आ.वं २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले शेयरधनीहरुको सल्लाह सुझावका लागि धन्यवाद दिए। उनले आफु कम्पनीको व्यवसाय बृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

सभामा, शेयरधनीबाट गत २१ औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरि आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।