मोलुङ्ग हाइड्रोपावरको आईपीओमा ५.६८ गुणा आवेदन, साढे ११ लाखले भरे

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा सोमबार साँझ ५ बजेसम्म मागको तुलनामा ५.६८ गुणा बढी आवेदन परेको छ । करिब साढे ११ लाख लगानीकर्ताबाट सो माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ्क अनुसार फागुन ८ गते सोमबार साँझ ५ बजेसम्ममा ११ लाख ४४ हजार १२९ वटा आवेदन मार्फत १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ५९ हजार ५० कित्ताको माग परेको हो ।

यो सर्वसाधारणबाट माग भएको सेयर संख्याको ५.६८४ गुणा हो । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सुरक्षित गरी २२ लाख ६४ हजार ६५५ कित्ता खरिदका लागि दरखास्त आह्वान गरेको थियो ।

फागुन ४ गते बिहीबारदेखि निष्काशन भएको आईपीओमा फागुन १० गते बुधबारसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख २६ हजार ४६५ जनाले मात्रै पाउनेछन् । तीमध्ये ५ जनाले थप १।१ कित्ताका दरले ११ कित्ता पाउनेछन् भने २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यद्यपी मागभन्दा बढी आवेदन परिसकेकाले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।