सानिमा मिडिल तमोरको आईपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) चैत २७ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।

कम्पनीले आइतबार प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३ करोड ३३ लाख २५ हजार सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकरण गरेको हो । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि नयाँ कम्पनीको कारोबार सुचारु हुने व्यवस्था रहेको छ । यसअनुसार कम्पनीको सेयर पनि भोलिदेखि नै कारोबारमा आउनेछ ।

 नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि ओपनिङ रेञ्ज न्यूनतम ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँसम्म दिएको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार यहि रेञ्जभित्र हुनेछ । जसमा न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम २९५ रुपैयाँसम्म कम्पनीको धितोपत्र कारोबारमा आउनेछ ।

कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको जारी पुँजीको दश प्रतिशतले हुन आउने ३३ लाख ३२ हजार ५०० कित्ता, आयोजनाका कर्मचारीहरुमा वितरण गरिएको जारी पुँजीको पाँच प्रतिशतले हुन आउने १६ लाख ६६ हजार २५० कित्ता, र सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुलाई वितरण भएको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारिमा रहेको नेपाली समेतका लागि समेत) जारी पुँजीको पन्ध्र प्रतिशतले हुन आउने ४९ लाख ९८ हजार ७५० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता आइतबार सुचीकृत गरेको हो ।

कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण काम (आरटिएस) सानिमा क्यापिटल नक्साल मार्फत हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम चैत ८ गते बिहान गोलाप्रथाबाट बाँडफाँड भएको थियो । सो बाँडफाँडमा ४ लाख २४ हजार ८९३ जना सर्वसाधारण लगानीकर्ताले आईपीओ हात पारेका छन् । जसमा भाग्यशाली ८ जनाले ११ कित्ताका दरले र ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताका दरले सेयर पाएका थिए । कम्पनीले आम सर्वसाधारणमा फागुन २६ गतेदेखि ३० गतेसम्म ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५६ हजार ३४१ जनाले १ करोड ५० लाख ८८ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि पुँजी जुटाउनका लागि आईपीओ जारी गरेको हो । आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ । ७३ मेगावाट क्षमताको उक्त आयोजना आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा गरिएको सेयर पूँजीमा लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) सम्बन्धी अवधिमा साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।