कालु गुरुङको साढे १ अर्ब लगानीमा पोखरामा दुई अर्पाटमेन्ट निर्माण हुँदै

0
Shares

रोडसो इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष कालु गुरुङको १ अर्ब ४९ करोड ९० लाख लगानीमा पोखरामा दुई आकर्षक अर्पाटमेन्ट निर्माण हुँदै छन् ।

कम्पनीले १ लाख ३२ हजार ३५४ स्क्वायर फीट जग्गामा ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासवरमा र ६० युनिटको अपार्टमेन्ट लेकसाइड सेदीमा निर्माण गरिरहेको छ।

हालसम्म कम्पनीले मासवरमा निर्माण हुँदै गरेको अन्नपूर्ण अपार्टमेन्टको ५४.४ प्रतिशत वित्तीय प्रगति गरेको छ भने लेकसाइड सेदीमा निर्माण भइरहेको अपार्टमेन्टको ३७.२२ प्रतिशत वित्तीय काम सम्पन्न भएको छ ।

अपार्टमेन्टमा स्वीमिङ पुल, जिम हल, साउना, कफी शप, चौबीसै घन्टा पानी तथा विद्युत सुविधा, सुरक्षाका लागि सीसीटीभी क्यामेरादेखि सुरक्षागार्ड रहने कम्पनीले जनाएको छ ।

अपार्टमेन्ट निर्माणका लागि आवश्यक पर्ने रकम प्रमोटर फन्ड, कर्जा र ग्राहकको एड्भान्स रकमबाट उठाइएको छ । प्रमोटर फन्ड, कर्जा र ग्राहकको एड्भान्सको हिस्सा १४ः४५ः४१ रहेको छ । कम्पनीले ६७ करोड ६० लाख कर्जा अनुमति पाइसकेको छ भने ६० करोड ८० लाख रकम ग्राहकहरुको गरेको अपार्टमेन्ट बुकिङ मार्फत संकलन भएको छ ।

कर्जा र ग्राहकको एड्भान्समा निर्भर र अपार्टमेन्ट निर्माण हुन लाग्ने समय बढिरहँदा परियोजना नै सफल हुन्छ वा हुँदैन भन्नेमा प्रश्न उठेको छ । तथापि पछिल्लो २६ वर्षदेखि हाउजिङ क्षेत्र निर्माण मै काम गर्दै आएका कालु गुरुङको अनुभवले परियोजना सफल बनाउला भन्ने आशा गरिएको छ ।

यस अघि कम्पनीले काठमाडौंको महाराजगंज, धुम्बाराही, नारायण भवन, बुढानिलकण्ठ, रोडसो हाउजिङ–सात हाउजिङ परियोजना निर्माण गरिसकेको छ । काठमाडौं र पोखरामा स्ट्याण्ड अलोन घर तथा अपार्टमेन्ट निर्माण गरेर बिक्री गरिसकेको कम्पनीलाई यो परियोजना नौलो भने होइन ।

रोडसो इन्भेष्टमेन्ट कम्पनीले हाउजिङका साथै जग्गा तथा सेयरको खरिद बिक्री समेत गर्दै आएको छ । सन् २०२२ मा कम्पनीले ४० करोड सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १३ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा बढेको छ । यस कम्पनीमा कालु गुरुङको एकल सेयर स्वामित्व रहेको छ ।

कम्पनीले ८८ करोड ६७ लाख ३० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ५१ करोड ५६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयरनेपालले डबल बी माइन्स र ३७ करोड ११ लाख ३० हजार बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए४ रेटिङ पाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।