ऋण तिर्न डेढ अर्बको हकप्रद बेच्ने शिव श्री हाइड्रोपावरको निर्णय


शिव श्री हाइड्रोपावरले आयोजना निर्माणका लागी लिएको बैंक ऋण भुक्तानी गर्नका लागि डेढ अर्बको हकप्रद निष्काशन गर्ने भएकाे छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले विद्यमान सेयरधनीहरूबाट हकप्रद सेयर निष्काशन गरी रकम संकलन गरी ऋण भुक्तानी गर्ने निर्णय गरेको हो । कम्पनीको बैशाख १४ गते बिहीबार बसेको बैठकको निर्णय अनुसार चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा सेयर निष्काशन गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले चुक्ता पुँजी बराबरले हुन आउने १ अर्ब ४७ कराेड ६४ लाख रूपैयाँ बराबरकाे हकप्रद बिक्री गर्नेछ ।

सञ्चालक समितिको बैठकले गरेकाे हकप्रद जारी गर्ने निर्णय नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र अगाडि बढ्नेछ ।

कम्पनीले सिन्धुपाल्चोकमा रहेकाे चाँकु खोलामा २२.२० मेगावाट क्षमताको माथिल्लाे चाकु खोला ’ए’ जलविद्युत आयोजना निर्माण गरी २०७८ जेठदेखि नियमित रूपमा विद्युत उत्पादन गर्दै आएकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्ममा कम्पनीले १३ करोड ६ लाख नोक्सानी व्यहोरेको छ । कम्पनीको ३ अर्ब ९८ करोड दीर्घकालीन कर्जा रहेको छ । साेही तिर्न कम्पनीकाे आम्दानीले अपुग हुने भएपछि सेयरधनीलाइ हकप्रद बेचेर ऋण तिर्ने निर्णय कम्पनीले गरेकाे हाे ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्षको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्षको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र सेयर पूँजीबाट ३६ प्रतिशत संकलन गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म शिव श्री हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ मात्र रहेको छ । यसको मतलव कम्पनीमा अंकित मूल्यमा लगानी गरेका सेयरधनीको सम्पत्ति प्रतिकित्ता ३३ रुपैयाँ गुमेको अवस्था रहेको छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।