सुनको भाउले तोड्यो रेकर्ड, दुई दिनमा ३ हजारले वृद्धि


सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज विहीबार प्रतितोला १२ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको थियो । छापावाला सुन दुई दिनमा ३ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यो हालसम्म कै उच्च हो । यसअघि चैत २२ गते छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो । तेजावी सुनको भाउमा आज १२सय रुपैयाँले वृद्धि भएको हो । यता बिहीबार चाँदी भाउमा पनि उल्लेख्य वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ४४ दशमलव ९७ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।