न्युन आय भएका जनताको बीचमा जीवन बीमा व्यवसाय गर्न प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

साविकको प्राइम, गुराँस र यूनियन लाइफ एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको सुरुवात गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।

जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेको भन्दै उनले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिएका हुन् ।

नयाँ कम्पनीको प्रमाणपत्र हस्तान्तरण गर्दै प्राधिकरण अध्यक्ष सिलवालले मर्जरका कारण कम्पनी सबल बन्दै गर्दा सोही अनुसार व्यवसायलाई अनुसासित र मर्यादित बनाउन आग्रह गरे ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यी तीन कम्पनीले २०७९ वैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण लिएका थिए ।

गत वर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने नीति ल्याएपछि जीवन बीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलोपटक मर्जर सम्झौता गरेका थिए ।

जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा सूचकमा अगाडि पुगेको छ । जीवन बीमा क्षेत्रमा चुक्ता पूँजीका हिसाबले हिमालयन लाइफ दोस्रो ठू्लो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा धेरै शाखा भएको कम्पनी बनेको छ । कर्मचारी संख्यामा धेरै कर्मचारी भएको कम्पनी नवीकरण गरेका अभिकर्ताको संख्याका आधारमा पनि सबैभन्दा अगाडि छ ।

मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ९० करोड रुपैयाँ सञ्चित छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको कम्पनीको प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ सञ्चित छ भने सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको कम्पनीले अर्जर पहिले आआफ्नै अस्तित्वमा रहँदा ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।