साताको पहिलो कारोबार दिन १७ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ १७ सय रुपैयाँले घटेको छ । गत शुक्रबार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज भने १७ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ १ लाख १३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । सुनको भाउ गत जेठ १५ गतेदेखि लगातार बढेको हो ।

जेठ १५ गते १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ लगातार ५ दिन वृद्धि भएको महासंघले जनाएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएपछि सुनको भाउमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजावी सुन १ लाख १२ हजार ७५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता चाँदीको भाउ पनि हिजो शुक्रबारको तुलनामा २० रुपैयाँले घटेर आइतबारका लागि १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४८ दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।