आइसीसी विश्वकप छनोट: सुपर सिक्समा पुग्न नेदरल्यान्ड्लाई जित्नै पर्ने दबाबमा नेपाल

0
Shares

आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।  जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ ।
 
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ। 
 
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एकरएक जीत हासिल गरेका छन् । 
 
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन्। 
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।
 
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको  दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र  नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।