लुटपाटका घटना बढेकोमा सुनचाँदी ब्यवसायीको ध्यानाकर्षण, सुरक्षाको प्रत्याभुति दिलाउन माग

लुटपाटका घटना बढेकोमा सुनचाँदी ब्यवसायीको ध्यानाकर्षण, सुरक्षाको प्रत्याभुति दिलाउन माग

नेपाल सुनचाँदी ब्यवसायी महासंघले देशमा आर्थिक मन्दी बढेसंगै लुटपाटका घटना बढ्न थालेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
 
यही असार १० गते आईतवार बिहान २ः०० बजे नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरीमा न्यू साई ज्वेलर्सका संचालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका संचालक एवं नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका  सहसचिव चन्दन कुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको महासंघले बताएको छ । 
 
सो पसलबाट सेफ (लकर) र गरगहना सहित ठूलो धनमाल चोरी भएको महासंघले जनाएको छ । 'गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गर्दै पुनः यस किसिमका घटना हुन नदिन गृह प्रशासनसँग माग समेत गर्दछ । लुटपाटको क्रममा अज्ञात समुह संलग्न भएको पाइएको छ ।  सो समूहको तत्काल पहिचान गरी आवश्यक कारवाहीको लागि हामी जोडदार माग गर्दछौं ।' महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 
 
सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय हो । यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल व्यवसायीहरु आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सम्वद्ध निकायसँग महासंघले जोडदार माग गरेको छ।
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।
 

प्रकाशित मिति: १० असार २०८०, आइतबार १७ : १० बजे