मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ असार १९ गतेदेखि खुल्ने

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले यहि असार १९ गतेदेखि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  सर्वसाधारण लगानीकर्ताका लागि भने सो आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गर्ने सेयरमा दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा विगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले आवेदन दिन पाउनेछन् । स्थानीय बासिन्दामा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड मूल्यको ८ लाख कित्ता निष्कासन गर्नेछ ।

यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारणमा जारी गर्ने जारी पुँजीको २५ प्रतिशतमध्ये त्यसको १० प्रतिशतले हुन आउने २ करोड मूल्यको २ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पूँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कति दिन सकिन्छ आवेदन ?

कम्पनीले जारी गर्ने सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै अधिकतम कित्ताको हकमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाले अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय काठमाण्डौं १० अनामनगर, गौरीशंकर गाउँपालिकाको कार्याल दोलखा तथा प्रभु बैंक र सिन्धु विकास बैंकको शाखा कार्यालय गौरिशंकर दोलखा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स बचत खाता खुला गरी पछिल्लो ६ महिनाभित्र ५० हजार रुपैयाँ रेमिट्यान्स रोजगारीमा गउको मुलुकबाट नेपाल पठाएको हुनुपर्ने व्यवस्था छ ।

कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुबैको आईपीओ छिटोमा साउन २ गतेसम्म खुला हुनेछ ।

स्थानीय बासिन्दाको हकमा भने उक्त छोटो अवधिभित्र सबै सेयर बिक्री नभएको खण्डमा आवश्यकता अनुसार ढिलोमा साउन १७ गतेसम्म निष्कासन खुला रहने जनाएको छ ।

औषत जोखिम रेटिङ्ग

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सार्वजनिक निष्कासनका लागि केयर रेटिङस् नेपाल लिमिटेड मार्फत साख मुल्याङ्कन गरेको छ ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

विवरणपत्र मार्फत निष्काशन गरिने साधारण सेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल काठमाडौले २०७९ भदौ २९ गते ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको हो । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

केयर रेटिङ्ग नेपाल लिमिटेडले ‘केयर एनपी ट्रिपल ए इस्यूअर रेटिङ्ग’ देखि ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ सम्मको प्वाइन्ट रेटिङ्ग प्रदान गर्दछ । जसमा केयर एनपी ट्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधार जनाउँछ भने केयर एनपी डि इस्यूअर रेटिङ्गले कमजोर आधारहरु जनाउँछ । केयर एनपी बी, सी र डी इस्यूअर रेटिङ्गहरुले क्रमश औषत भन्दा कम आधारहरु जनाउँछ । दिइने आधारहरुमा प्रयोग गरिने (प्लस) चिन्हले दिइएको समूहको तुलानात्मक सकारात्मक स्थितिलाई जनाउँछ । सो रेटिङ्ग को वैधता अवधि एक वर्ष अर्थात् २०८० असार २८ गतेसम्म रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।