गृहमन्त्री श्रेष्ठले निर्धारण गरे रिपब्लिक मिडियाका सेयरधनी


उपप्रधान तथा  गृहमन्त्री नारायणराजी श्रेष्ठले नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयरधनी निर्धारण गरेका छन् । सर्वसाधारणमा पहिलो मिडिया कम्पनीको रुपमा सेयर बिक्री गरेको रिपब्लिक मिडियाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँडमा गृहमन्त्रीस्तरको व्यक्ति पहिलो पटक सहभागि भएर सेयरधनी समेत निर्धारण गरेका हुन् ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बिहान १० बजे काठमाण्डौंको ठमेलस्थित होटेल अलफ्टमा आईपीओ बाँडफाँड कार्यक्रम राखेको थियो । आईपीओ बाँडफाँड कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी आईपीओ बाँडफाँड कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट बाँडफाँड गर्न उनै श्रेष्ठले नै बल थुतेका हुन् ।

श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेर गोलाप्रथाबाट ३ लाख ६१ हजार ९८९ जना सेयरधनी निर्धारण गरेका हुन् । जसमध्ये १ जनाले ११ कित्ता सेयर र बाँकी ३ लाख ६१ हजार ९८८ जनाले १० कित्ता सेयर पाएका छन् । 

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको थियाे ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइपीओमा कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख २७ हजार ५६९ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । अन्तिम नतिजा निष्कासन तथाबिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटको वेवसाइट, धितोपत्र निष्कासन गर्ने कम्पनी नेपाल रिपब्लिक मिडिया लिमिटेड र सीडीएससीले आईपीओ नतिजा हेर्न विकास गरेको वेवसाइट iporesult.cdsc.com.np र मेरो सेयरको एप्लीकेसन रिपोर्टमा गएर हेर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।