सेयर बजारमा ३५ अंकको गिरावट, ६ अर्बको कारोबार

0
Shares

सेयर बजारमा बुधबार ३५.३७ अंकको गिरावट आएको छ । अघिल्लो दिन मंगलबार ५६.९४ अंक सहित लगातार चार दिनमा नेप्से १३५.५९ अंकले बढेको थियो । छोटो समयमा नाफा भएसँगै अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजारमा करेक्शन देखिएको हो ।

मंगलबार नेप्से परिसूचक बढेर साढे चार महीनायताकै उच्च विन्दु २१८६ दशमलव ३६ विन्दुमा पुगेको थियो । यसअघि गत माघ २६ गते नेप्से परिसूचक २ हजार १८२ दशमलव ६३ विन्दुमा पुगेको थियो । तरलता सहज भएसँगै घट्दो ब्याजदरले बढेको बजारमा प्रोफिट बुक गर्ने सक्रिय भएसँगै घटेको हो । बुधवार कारोबार अवधि इन्ट्राडेमा २ हजार २०५ दशमलव ९७ बिन्दुसम्म पुगेको थियो ।

बजार सूचक घटेपनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ४९ करोड ६१ लाख रुपैयाँले बढेपछि दैनिक कारोबार रकम ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ ।

असार १३ गते बुधबार सेयर बजार सूचक नेप्से पनि १.६२ प्रतिशत अर्थात ३५.३७ अंकले बढेर २१५०.९९ बिन्दुमा पुगेको छ । यसदिन २८० स्क्रिप्टका १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर ८२ हजार ३५९ वटा संख्यामा खरिद बिक्री भएको छ ।  कारोबारमा आएका १३ मध्ये जीवन बीमा उपसमुहगत सूचक बढ्दा बाँकी सबै घटेका छन् । अन्य ३.२१ प्रतिशत, लघुवित्त २.९९, फाइनान्स २.९९, होटल तथा पर्यटनमुलक २.६८, ब्यापार २.४५ र विकास बैंक २.४३ प्रतिशतले घटेको छ । बाँकी दुई प्रतिशतभन्दा कम घटेका छन् ।

आजको बजारमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन लाइफ, बिपिडब्लू लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सामुदायिक लघुवित्त ८.१६, शुभम् पावर ८.११, प्रोगेशिभ फाइनान्स ४.९३, इमर्जिङ्ग नेपाल लिमिटेड ४.६६, सयपत्री हाइड्रोपावर ४.६२, एशियन लाइफको ४.४७ र एनआरएन इन्फ्रास्टक्चरको ४.४४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आजको बजारबाट इङ्वा हाइड्रोपावरको ६.६४ प्रतिशत, खप्तड लघुवित्त ६.१५ तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ६.११ प्रतिशतले गुमाएका छन् । यस्तै मकर जितुमाया हाइड्रोपावर ५.८६, ग्लोबल आइएमई लघुवित्त ५.७१, एनएमबि माइक्रोफाइनान्स ५.५६, नेरुडे लघुवित्त ५.५५, जोशी हाइड्रोपावर ५.४३, फस्ट माइक्रोफाइनान्स ५.३५ र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सेयरमूल्य ५.३५ प्रतिशतले घटेको छ ।

बुधबार हिमालयन लाइफ इन्स्योरेन्सको एक्लैको ८३ करोड ७० लाख ३६ हजार ७९२ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कुल कारोबारमा हिमालयन लाइफको हिस्सा १४ प्रतिशत बढी छ । यस्तै शिवम् सिमेन्टस एक्लैको २८ करोड २२ लाख ६७ लाख रुपैयाँको सेयर कारोबार हुँदा सोल्टी होटलको २३ करोड ५६ लाख ३९ हजार, एशियन लाइफको १९ करोड ५० लाख ७२ हजार, र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २७ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन कारोबार संख्या र कित्तामा पनि हिमालयन लाइफ इन्स्योरेन्स अगाडि छ । उक्त कम्पनीको १५ लाख २३ हजार ७१२ कित्ता सेयर ७ हजार ११२ वटा संख्यामा खरिद बिक्री भएको छ ।

बजारमा करेक्शन आएसँगै कुल बजार पूँजीकरण पनि घटेर ३१ खर्ब ५० अर्ब १३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा कुल बजार पुँजीकरण ५१ अर्ब ७९ करोड२ लाख रुपैयाँले घटेको हो । अघिल्लो दिन मंगलबार कुल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ नाघेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार  १५ : ४० बजे